• १२ मंसिर २०८१, बुधबार

आर्थिक चुनौतीकाबिच मोफसलमा फुटबल एकेडेमी

blog

बेलबारी (मोरङ), पुस १४ गते । बिहान सबेरै उठेका फुटबल प्रशिक्षक इन्द्र लिम्बू प्रशिक्षार्थीसँग खेल मैदानमा भेटिनुहुन्छ । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल खेल्ने चाहनाका साथ मैदानमा आएका ३० जना १३ वर्षमुनिका विद्यार्थीलाई दैनिक बिहान प्रशिक्षक लिम्बूले फुटबलको तालिम गराई रहनुभएको छ ।

मोफसलमा बढ्दो फुटबल खेलप्रति बालबालिकाको आकर्षणलाई मध्यनजर गर्दै जिल्ला फुटबल सङ्घ मोरङले कात्तिक १२ गतेदेखि ‘अण्डर १३ एन्फा मोरङ फुटबल एकेडेमी’ सञ्चालनमा ल्याएको हो । जिल्ला सदरमुकाम विराटनगरभन्दा करिब ३० किलोमिटर टाढा मोफसलमा एकेडेमी सञ्चालनमा आएको हो । 

पर्याप्त आर्थिक अभावको बिच मोरङमा आवाससहितको फुटबल एकेडेमी सञ्चालनमा ल्याइएको सङ्घका उपाध्यक्ष नारायण लिङ्थेपले बताउनुभयो । राज्यका तिनै तहले खेलकुदमा पर्याप्त लगानी गर्न नसकिरहेको अवस्थामा जिल्लाको खेलकुद विकासका लागि सङ्घले पहिलो पटक एकेडेमी सञ्चालनमा ल्याएको उहाँको भनाइ थियो ।

बेलबारी-८ राधानगरमा रहेको सिंहदेवी बोडिङ स्कुलको सहकार्यमा आवासको व्यवस्थासहित सञ्चालित एकेडेमी फुटबल खेलमा भविष्य खोज्नेको लागि आकर्षक गन्तव्य बनेको सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न पालिकाबाट करिब चार सय जना १३ वर्षमुनिका फुटबल प्रेमी विद्यार्थीबाट छनोट भएर आएका ३० जनालाई मोरङको बेलबारी-८ राधानगरस्थित खेल मैदानमा प्रशिक्षित गरिराखिएको छ । 

एसियाली फुटबल महासङ्घ सी लाइसेन्स कोचिङ कोर्ससमेत पास गरिसक्नुभएका प्रशिक्षक लिम्बूबाट आफ्नो छोरालाई प्रशिक्षित गराउने अवसर पाउँदा खुसी लागेको प्रशिक्षार्थी विजल श्रेष्ठका बुबा बाबुराम श्रेष्ठले बताउनुभयो । “देशकै नमुनाको रूपमा जिल्ला फुटबल सङ्घले सञ्चालन गरेको अण्डर १३ फुटबल एन्फा एकेडेमीलाई स्थायित्व दिलाउन केन्द्रबाट सहयोग जुटाउन लागिपरेका छौँ”, अखिल नेपाल फुटबल सङ्घका सहायक महासचिव वसन्त अर्यालले भन्नुभयो । 

उहाँका अनुसार फुटबल एकेडेमीका रूपमा अन्य ठाउँमा पनि एकेडेमी सञ्चालन भएपनि आवाससहितको नेपालकै पहिलो मोरङको बेलबारीमा मात्र रहेको छ । मोरङको सफलतासँगै देशका विभिन्न जिल्लामा स्थानीय सरकारको सहयोगमा एकेडेमी सञ्चालन गर्ने योजना रहेको अर्यालले जानकारी दिनुभयो । “सुनसरीको धरानमा फिफा गोल प्रोजेक्टको योजनाअन्तर्गत ट्रेनिङ एकेडेमी सञ्चालनमा रहेको थियो”, उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण हाल सञ्चालन हुन सकेको छैन ।” 

सहायक महासचिव अर्यालले प्रदेश सरकारले सहयोग गरे आगामी शैक्षिक सत्रदेखि प्रदेशस्तरीय फुटबल एकेडेमी सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार धरानको एकेडेमीबाट उत्पादित धेरै खेलाडी राष्ट्रिय टिमसम्म पुग्न सफल हुनुभएको छ । अनिल ओझा, हेमन्त थापामगर, संयोग राई राष्ट्रिय टिममा सहभागी भइसक्नुभएको छ भने हिसुव थपलिया र गोल रक्षकका रूपमा अभिषेक बराल हाल सहभागी हुनुहुन्छ । 

“वि.सं.२०७४ देखि गत वर्षसम्म सञ्चालित बेलबारी-८ मा रहेको एम्ब्रियो फुटबल एकेडेमीमा ५० विद्यार्थी थिए । केहीले १५ वर्ष मुनि (अण्डर-१५) को राष्ट्रिय टोलीमा सहभागी भएर अन्तर्राष्ट्रिय खेलसमेत खेल्ने मौका पाएका छन्”, सिंहदेवी बोर्डिङका सञ्चालक रविन थापाले भन्नुभयो, “फुटबल सङ्घले जिल्लामा एकेडेमी सञ्चालन गरेपछि हामीले सङ्घलाई नै सहयोग गरिरहेका छौँ ।” रासस