• २१ असार २०८१, शुक्रबार

मलामी गएकै बेला छोराको मृत्युको खबर सुनेपछि...

blog

मृतक विरेन्द्र शाह । तस्बिरः फेसबुक

शिवराज ढुंगाना 

अछाम, पुस १३ गते । गाउँकै दाजु नाता पर्नेको दाहसंस्कार गरेर ५२ वर्षीया टेकबहादुर शाह घर फर्किँदै हुनुहुन्थ्यो । लुङग्राको थुवा लेक नजिक पुगेपछि साथमै घर फर्किरहेका काठेरुले फेसबुक हेरेपछि वीरेन्द्रको मृत्युको समाचार थापा पाए । अनि त्यही खबर साथकै टेकबहादुरलाई सुनाए । सुरुमा मनमा चिसो पसे पनि टेकबहादुरले विश्वास मान्नु भएन र काठमाडौँ भएका आफन्तलाई सोधपुछ पछि छोराको मृत्युको खबर सुन्नुभयो । 

कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षाको विषयमा बालकुमारीमा भएको आन्दोलनमा घाइतेपछि उपचारको क्रममा निधनको खबरले गाउँ नै शोकमग्न छ । विदेशमा गएर पैसा कमाएर परिवार पाल्ने आसमा रहेको परिवार बेहाल अवस्थामा रहेको स्थानीयले जानकारी दिएका छन् । 

“पुरै गाउँ वीरेन्द्रकै घरमा आएको छ, आमा र परिवारका अन्य सदस्यलाई सम्हाल्नै सक्ने अवस्था छैन ।” वडा सदस्य गणेशबहादुर शाहले भन्नुभयो । “पढ्न गएको साधारण केटो कसरी मारियो भन्नेमा गाउँ नै प्रश्न गरिरहेको छ ।” गणेशले भन्नुभयो ।  

गाउँकै सिउँडी माविबाट कक्षा १२ उत्तीर्णपछि वीरेन्द्र कोरियन भाषा सिक्नका लागि दुई वर्षअघि काठमाडौँ हानिएका थिए । कोरिया गएर परिवारको आर्थिक अवस्था उकास्ने सपना बोकेर काठमाडौँ पसेका वीरेन्द्रको जीवन त्यहीँ अन्त्य भयो । 

आर्थिक अवस्थामा कमजोर उनको परिवारमा बुवा भारतमा चौकीदारी गरेरै भए पनि छोरालाई विदेशमा पठाउने योजना रहनुभएको थियो । 

एक वर्षदेखि कोरियन भाषा पढिरहेका वीरेन्द्र दसैँतिहार मनाएर काठमाडौँ फर्केका थिए । मृतक वीरेन्द्रका घरमा आमा, बुवा, दाइ भाउजू छन् । दाइ भारतमा भएपनि कमाउनेमा छैनन् । घरको खेतीपाती र उमेर ढल्केका बुवाको भारतीय कमाइमा परिवार निर्भर रहेको छ । खेतीपाती बाहेक परिवारको आम्दानीको अरू स्रोत छैन । 

मृतक गणेशको दाहसंस्कारका लागि बुवासहित आफन्त काठमाडौँ जाने सल्लाहमा रहेको बताइएको छ । कलिलो युवा कमाउने बेलामा प्रहरीको गोली लागेर मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।