अविनाश चौधरी
धनगढी, पुस १३ गते । सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा दुई हजार ४९ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण वर्षभरि नै भएको हो ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार २०२३ को अक्टोबर, सेप्टेम्बर र अगस्टमा सबैभन्दा बढी क्रमशः ५५५, ५०२ र ४८० जनालाई डेङ्गु सङ्क्रमण भएको थियो । यस्तै, जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा १२९, अप्रिलमा २५, मेमा २२, जुनमा ३०, जुलाईमा ९२, नोभेम्बरमा १२० र डिसेम्बरमा २१ जनालाई डेङ्गु सङ्क्रमण भयो ।
पछिल्लो समय चिसो बढेपछि सङ्क्रमण घटेको छ । चिसोमा लामखुट्टेको वृत्ति विकास रोकिने गरेकाले डेङ्गु सङ्क्रमण घट्ने गरेको निर्देशनालयका सूचना अधिकारी धर्मानन्द गिरीले बताउनुभयो ।
यस वर्ष कैलालीमा ९९४, कञ्चनपुरमा ३०७, दार्चुलामा २६७ जनालाई डेङ्गु सङ्क्रमण भयो । अछाममा १७२, हिमाली जिल्ला बाजुरामा ९३, बझाङमा ७२, बैतडीमा ५४, डडेल्धुरामा ५० र डोटीमा ४० जनालाई डेङ्गु सङ्क्रमण भएको छ । डेङ्गु सङ्क्रमणका कारण तीन जनाले ज्यान गुमाएको निर्देशनालयले जानकारी दिएको छ ।
एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसलाई डेङ्गु लाग्ने गर्दछ । यो रोग लागेमा एक्कासी उच्च ज्वरो आउने, मांसपेशी, टाउको दुख्ने, बान्ता हुने, थकान लाग्नेजस्ता लक्षण देखा पर्ने गर्दछ ।