हेटौँडा, पुस १३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयतालाई दिगो र सबल तुल्याउन सङ्घीय सरकारले प्रत्येक प्रदेश सरकारलाई यथाशीघ्र अधिकार प्रत्यायोजित गर्नुपर्ने बताउनुभएको छ ।
आज मकवानपुरको हेटौँडामा आयोजित कार्यक्रममा उहाँले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट न्यायोचित ढङ्गबाट गरिनुपर्ने आग्रह गर्नुभयो । मुख्यमन्त्री यादवले आजै हेटौँडामा आयोजना गरिएको सातै प्रदेशका मुख्यमन्त्रीको बैठकले सङ्घीय सरकारलाई विभिन्न बुँदाको सुझावसहित प्रतिवेदन बुझाइने बताउनुभयो । उहाँले जनतालाई सङ्घीयता र गणतन्त्रप्रति जागरुक बनाउन तीनै तहका सरकार इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेपाल नगरपालिका महासङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र नेपाल गाउँपालिका महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सङ्घीयता र संविधानको मर्मअनुसार स्थानिय तहमा जनप्रतिनिधिलाई आफ्नो कार्यसम्पादन गर्न वर्तमान ऐन कानुनमा सुधार गर्नुपर्ने तथा सङ्घीय सरकारले स्थानीय निकायलाई उपेक्षा नगरी प्रदेश सरकार र स्थानीय सरकारलाई समान तरिकाले बजेट बाँडफाँट गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
यसैबीच तहगत ‘अधिकार कार्यविस्तृतीकरण’ विषयक अन्तर्क्रिया कार्यक्रमको समापनमा नेपाल सरकारका पूर्वमुख्यसचिव डा.सोमलाल सुवेदीले वित्तिय तथा आर्थिक क्षेत्र र संविधानविद् काशीराज दाहालले तहगत सरकारको अधिकार विभाजन, सार्वजनिक सेवा, वन वातावरण तथा विपद व्यवस्थापनसम्बन्धी विषयमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, सातै प्रदेशका मुख्य न्यायाधिवक्ता, प्रदेश नीतियोजना आयोग र बागमती प्रदेशका प्रदेशसभा सदस्यको सहभागिता थियो । रासस