काठमाडौँ, पुस १३ गते । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आजको बैठकमा सरकारका मन्त्रीहरूले मन्त्रालयको प्रगति विवरण पेस गर्दै छन् ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सानेपास्थित बिपी स्मृति भवन केन्द्रीय कार्यालयमा हिजो बिहीबारदेखि सुरु भएको बैठकमा मन्त्रीहरूले मन्त्रालयको विवरण पेस गर्ने र यस सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा महासमिति बैठक, जनतासँग काँग्रेस अभियान लगायत समसामयिक राजनीति सम्बन्धमा छलफल हुनेछ । उहाँले बैठकमा मुख्य गरी सरकारले आम नागरिकको आशा, भरोसा जगाउने काम गर्नुपर्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, मूल कुरा सरकारले आम नागरिकको आशा, विश्वास, भरोसा जगाउने काम गर्नुपर्छ भन्ने मुख्य विषयमा काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा छलफल भएको छ ।