रेखीराम राना
तानसेन, पुस १३ गते । एउटै निर्माण व्यवसायीले पाल्पाको छ वटा ठुला योजना अलपत्र पारेर छाडेका छन् । निर्माण व्यवसायीले ठेक्का लिने तर काम पूरा नगर्ने प्रवृत्तिले योजना वर्षौंदेखि अलपत्र बनेका हुन् । जय रक्तकाली कन्स्ट्रक्सन प्रालि नुवाकोटले सडक डिभिजन कार्यालय, सडक पूर्वाधार विकास कार्यालय र तानसेन नगरपालिकाका योजना अलपत्र पारेर छाडेको हो । प्रालिले एक दशकदेखि जिल्लाका योजनाहरू पूरा नगरी अलपत्र पारेको ती कार्यालयले जनाएका छन् ।
तानसेन नगरपालिकाको प्रभासको बाघखोरमा शीत भण्डार बनाउने योजना ११ वर्षदेखि पूरा हुन सकेको छैन । नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले ठेकेदारले २८ प्रतिशत मात्र काम गरेर योजना अलपत्र पारेको बताउनुभयो । जय रक्तकाली र हिम्दुङ एन्ड थोकर प्रालिले कामको जिम्मेवारी लिए पनि ११ वर्षमा पनि पूरा नभएको उहाँले बताउनुभयो ।
जिल्लाको उत्तरी भेगको महत्वपूर्ण मानिने चिलाङ्दी–चापपानी–राम्दी सडकखण्डसमेत सोही निर्माण व्यवसायीका कारण अलपत्र बनेको छ । निर्माण व्यवसायीले सात वर्षदेखि योजनाको काम पूरा गर्न नसकेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । २०७३ साल असोजमा आठ करोड ३१ लाख रुपियाँमा ठेक्का लिएर वाइपी–जय रक्तकाली कन्स्ट्रक्सन प्रालिले काम पूरा नगरेको कार्यालय प्रमुख वासुदेव भण्डारीले बताउनुभयो । निर्माण व्यवसायीले समयमै काम नगर्दा उक्त सडकखण्डको काम पूरा नभई भत्किने अवस्था बनेको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो । यस्तै सडक डिभिजन कार्यालयको चार वटा योजनासमेत जय रक्तकाली कन्स्ट्रक्सन प्रालिले अलपत्र पारेको छ । डिभिजन प्रमुख बाबुराम सापकोटाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा सडक मर्मतसुधार गर्ने काम तथा रामपुर–आर्यभन्ज्याङ सडकको काममा उक्त ठेकेदारले लापरबाही गरेको जानकारी दिनुभयो । २०७३ सालदेखि ठेक्का भएका सडकको काम पूरा नगरेको लामो समय भएका कारण निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सिफारिस गरिएको उहाँले बताउनुभयो ।
छ वटा योजनाको ठेक्का लिएको निर्माण व्यवसायीका प्रतिनिधि रामप्रसाद भट्टले भने आफूले काम गर्दागर्दै सडक डिभिजन कार्यालयबाट भुक्तानी नपाएका कारण काममा ढिलाइ भएको दाबी गर्नुभयो । सडक कार्यालयको विभिन्न स्थानमा काम गरेर पनि आफूले भुक्तानी नपाउँदा काम समयमै सम्पन्न गर्न समस्या भएको उहाँको भनाइ छ ।