• १० मंसिर २०८१, सोमबार

सन्दीप विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

blog

फाइल तस्बिर ।

काठमाडौँ, पुस १२ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ बिहीबार पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । काठमाडौँ जिल्ला अदालतमा भएको सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो । 

न्यायाधीश शिशिरराज ढकालको इजलासमा गत आइतबारदेखि फैसला बहस सुरु भएको थियो । सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी रहेको छ । बुधबार पनि सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । सन्दीप पक्षको बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि जिल्ला अदालतका न्यायाधीश ढकालले फैसला सुनाउनुहुनेछ । 

सन्दीपमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो। सन्दीपमाथि २०७९ भदौ ५ मा काठमाडौँको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ । पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।