• ८ असार २०८१, शनिबार

पहिलो पटक सिएको पढाइ सुरु

blog

सिए कक्षा सञ्चालन भएपछि अध्ययनरत विद्यार्थी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस १२ गते । केही समय पहिलेसम्म सिए पढ्न विदेश वा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता थियो । अहिले पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जमै यसको पढाइ सुरु भएपछि सिए पढ्न भारत वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । 

नेपालगन्जस्थित इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट (आइबिएम) ले सिए कक्षा सञ्चालनमा ल्याएपछि विद्यार्थीलाई विदेश वा काठमाडौँ जानुपर्ने बाध्यताको अन्त भएको आइबिएमका संस्थापक सदस्य सागर अधिकारीले बताउनुभयो । 

अनुभवी चार्टर्ड एकाउन्टेन्टले आइबिएम सञ्चालनमा ल्याएपछि सिए पढ्न राजधानी काठमाडौँ र भारत जानुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । सिए अधिकारीका अनुसार, लेखा, कर, लेखापरीक्षण, व्यावसायिक परामर्शजस्ता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आइबिएम सञ्चालनमा ल्याएको हो । 

आइबिएमका अर्का सञ्चालक सदस्य सिए सन्तोष कँडेलले आइबिएममै सिए पढाइ र नेपालगन्जमै परीक्षा हुने भएकाले अब सिए अध्ययन गर्न काठमाडौँ र विदेश जानु नपर्ने बताउँदै निकट भविष्यमै आइबिएमले लेखा व्यवस्थापन तालिम, करसम्बन्धी तालिम र अर्थसम्बन्धी विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गर्ने बताउनुभयो । 

सञ्चालक सदस्य कँडेलका अनुसार विसं २०५३ मा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) गठन भएपछि नेपालमा औपचारिक रूपमा सिएको पढाइ सुरु भएको हो । बर्सेनि सिएमा औसत ८०० जना विद्यार्थी भर्ना हुन्छन् । चार्टर्ड एकान्टेन्सी (सिए) पेसागत शिक्षा हो । यो शिक्षा आर्जन गरेपछि मुख्यतया विद्यार्थीले लेखापरीक्षणको काम गर्न पाउँछन् ।

यसबाहेक सिए अध्ययनपश्चात् विद्यार्थी लेखा, वित्तीय व्यवस्थापन, कर, कानुनलगायत विभिन्न विधामा दक्ष हुने भएकाले सम्बन्धित क्षेत्रमा परामर्शदाता अथवा दक्ष जनशक्तिका रूपमा पनि काम गर्न सक्ने आइबिएमले जनाएको छ । 

एनजिओ, आइएनजिओ, बैङ्क, अस्पताल, सरकारी कार्यालय, प्राइभेट कम्पनी, व्यापार, उद्योगसँगसम्बन्धित कार्यालयमा सिएले काम गर्न सक्ने भएकाले यसको माग धेरै रहेको जनाइएको छ । घरमै बसेर अध्ययन गर्ने हो भने डेढ लाख रुपियाँमा अध्ययन पूरा गर्न सकिने आइबिएमले जनाएको छ । 

‘इन्स्टिच्युटमा गएर पढ्ने हो भने ३ देखि ३.५ लाख रुपियाँमै कोर्ष पूरा गर्न सकिन्छ’ सञ्चालक सदस्य सिए अघिकारीले भन्नुभयो, ‘यदि विदेश गएर अध्ययन गर्ने हो भने तीन गुणा बढी पैसा लाग्छ ।’