• ८ असार २०८१, शनिबार

बन्द हुने अवस्थामा सरुवा रोग अस्पताल

blog

कालीकोटमा रहेको सरुवा रोग अस्पताल । तस्बिर : रजनी योगी

सुर्खेत, पुस १२ गते । कालीकोटमा रहेको सरुवा रोग अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । दुई वर्षअघि कर्णाली प्रदेश सरकारले स्थापना गरेको अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले उक्त अस्पतालका लागि बजेट नै छुट्याएको छैन ।

दुई वर्षदेखि अस्पताल सञ्चालनमा आएको थियो । प्रदेश सरकारले कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं. १ मा सरुवा रोग अस्पताल सञ्चालनको स्वीकृति दिएको थियो । वि.सं. २०७८ असोज २० गते सामाजिक विकास मन्त्रालयले सरुवा रोग अस्पताल सञ्चालनका लागि स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई पत्र पठाएको हो । २१ जनाको अस्थायी दरबन्दी रहनेगरी काम सुरु गर्न पत्र पठाइएको थियो । सोहीअनुसार अस्पताल सञ्चालनमा आयो । अस्पतालको जनशक्ति व्यवस्थापन, औषधि आपूर्ति, अस्पताल व्यवस्थापनका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने गरेको थियो । तर यो वर्ष बजेट नै छुट्याइएको छैन ।

अस्पताल सञ्चालन भएको दुई वर्षसम्म बजेट विनियोजन गरेको सरकारले चालु आर्थिक वर्षमा एक रुपियाँसमेत विनियोजन गरेको छैन । जसले गर्दा अस्पतालको सेवा ठप्प भएको हो । गत साउनबाट सरुवा रोग अस्पतालको सेवा नै ठप्प भएको छ भने एक जना कर्मचारीसमेत कार्यालयमा छैनन् । अस्पतालले कोभिड, क्षयरोग, कुष्ठरोग, कालाजार र औलो रोगको उपचार सेवा दिइरहेको थियो ।

बजेट विनियोजन नगर्दा समस्या भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । प्रदेश सरकारसँग बजेट व्यवस्थापनका लागि पटक–पटक माग गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिनुभयो । ‘‘जिल्लामा सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सरुवा रोग अस्पताललाई तत्काल बजेट विनियोजन गर्न प्रदेश सरकारसँग माग गरेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘यो वर्षमा बजेट व्यवस्था नहुँदा अस्पतालको सेवा ठप्प छ । सरकारले मागको कुनै सुनुवाइ गरेको छैन ।’’

सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयलाई बजेट व्यवस्थापनका लागि माग गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. सङ्केत विश्वकर्माले बताउनुभयो । अस्पतालमा एक जना मेडिकल अधिकृतसहित २१ जना स्वास्थ्यकर्मीहरूको दरबन्दी रहेको छ । ‘‘२१ जना दरबन्दी रहेको अस्पतालमा २१ जनाले काम गर्दै आउनुभएको थियो,’’ उहाँले भन्नुभयो, ‘‘अहिले त अस्पतालका लागि बजेट नै आएन । गत साउन १ गतेबाट अस्पतालको सेवा नै रोकिएको छ ।’’

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा एक करोड बजेट विनियोजन गरेको थियो । सरुवा रोग अस्पताल सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको हो । अस्पताल सञ्चालन भएको पहिलो आर्थिक वर्षमा एक करोड विनियोजन गरेको प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा समेत एक करोड नै बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारकै मातहतमा सञ्चालन भइरहेको अस्पताललाई चालु आर्थिक वर्षमा भने बजेट नै विनियोजन गरिएको छैन । जसले गर्दा अस्पतालको सेवा ठप्प भएको हो ।

स्वास्थ्य क्षेत्रको पहुँच बढाउनुको साटो उल्टै घटाउनु दुःखद् भएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो । अस्पताल सञ्चालनका विषयमा सर्वदलीय र सर्वपक्षीय बैठक बस्ने गरिएको उहाँको भनाइ छ । अहिले करिब तीन करोड बराबरको स्वास्थ्य उपकरण अलपत्र परेका छ ।

सङ्घीयता कार्यान्वयन हुनुअघि नै भवन डिभिजन कार्यालय जुम्लाले दुई वटा पाँच तले सरकारी भवन निर्माण गरेको थियो । सोही भवनबाट अस्पतालले सेवा दिइरहेको थियो । गत साउन १ गतेबाट अस्पतालको सेवा बन्द भएपछि एउटा भवनबाट चार वटा सरकारी कार्यालयले सेवा दिइरहेका छन् । हाल जिल्ला हुलाक कार्यालय, जिल्ला निर्वाचन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र उद्योग उपभोक्ता हित संरक्षण कार्यालय सञ्चालनमा छन् । अस्पताल सञ्चालन भएको अर्को भवनमा सरुवा रोग अस्पतालका स्वास्थ्य उपकरण राखिएको छ । दैलेख, बाजुरा अछाम समेतका बिरामी उपचारका लागि कालीकोट आउने गरेका थिए ।