• ८ असार २०८१, शनिबार

भूकम्प पीडितलाई न्यानो कपडा वितरण

blog

कर्नाली नेटवर्कले जाजरकोटका भूकम्प पीडितलाई राहत वितरण । तस्बिर : रजनी योगी

रजनी योगी 

सुर्खेत, पुस १२ गते । कालिकोटस्थित कर्नाली नेटवर्कले जाजरकोटका भूकम्प प्रभावितहरुलाई न्यानो कपडा वितरण गरेको छ । जाजरकोटको छेडागाड नगरपालिका ७ र ९ का चार सय जनालाई न्यानो कपडा वितरण गरिएको हो ।  

एकिकृत विकासका लागि कर्नाली नेटवर्कले वर्ल्ड शेयर कोरियाको सहयोगमा चिसोबाट बच्न न्यानो कपडाहरु दुई सय म्याट, दुई सय टोपी, दुई सय मोजा, फाइबर ब्लाङ्केट दुई सय, पञ्जा दुई सय र दुई सय ज्याकेट वितरण गरेको हो । प्रत्येक व्यक्तिहरुलाई हात–हातमा राहत वितरण गरिएको नेटवर्कका टोली प्रमुख टीका पौडेलले बताउनुभयो । उहाँका अनुसार वडा नं. ७ मा रहेको भानुभक्त आधारभूत विद्यालय टीकाचौरलाई ४० जना विद्यार्थी पढ्न मिल्ने टेन्ट हस्तान्तरण गरिएको छ । 

संस्थाको भूकम्प राहत तथा पुन:स्थापना परियोजना अन्र्तगत भूकम्पबाट प्रभावित जिल्ला जाजरकोटमा नेपाल सरकारको आग्रह पश्चात कठ्यांग्रीदो चिसोबाट बच्न बालबालिका विद्यार्थी तथा विपन्न स्थानीय नागरीकलाई राहत वितरण गरिएको नेटवर्कले जनाएको छ । भौगोलिक रुपमा विकट रहेको यो बस्तीमा पहिलो पटक राहत पुगेको छेडागाड नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष वीरबहादुर रोकायाले बताउनुभयो । नगरपालिकाबाट वडामा पुग्न सात घण्टाको पैदल दूरी छ । 

समाज कल्याण परिषद्का, प्रतिनिधिसहित सरोकारवालाको उपस्थितीमा राहत वितरण गरिएको हो । भूकम्प पीडितलाई स्थानीय सरकारको सिफारिस अनुसार न्यायो राहत तथा चौरमा पढिरहेका विद्यार्थीलाई ठुलो टेन्टले थोरै भए पनि राहत हुने टोली प्रमुख पौडेलले जानकारी दिनुभयो । 

छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले कर्नाली नेटवर्क र दातृ निकाय वर्ल्ड शेयरले वास्तविक भूकम्प पीडितको दुःखमा मलहम लगाएको बताउनुभयो । यो पालिकामा न्यून राहत मात्र उपलब्ध भएको उहाँको भनाइ छ । जाडोमा धेरै बालबालिका बिरामी हुन थालेको, दीर्घ रोगीहरुमा श्वासप्रश्वासको समस्या देखिएको, चिसोबाट विद्यालय, स्वास्थ्य सेवा समेत प्रभावित बनेको उहाँले जानकारी दिनुभयो ।  

भूकम्पको केन्द्रबिन्दु जाजरकोटको नलगाडमा राहत थुप्रिएको तर अन्य प्रभावित क्षेत्रमा पिडीतहरुको चिसोबाट मृत्यु हुन थालेपछि सरकारले पछिल्लो चरणमा एकद्वार नीति हटाएर आवश्यक ठाउमा राहत तथा पुनःस्थापनामा जुट्न आह्वान गरेको छ ।