• २८ वैशाख २०८२, आइतबार

तमु (गुरुङ) सञ्चारकर्मी सङ्घद्वारा ६ पत्रकार पुरस्कृत

blog

आज पुरस्कृत हुनुभएका ६ जना पत्रकार । तस्बिर : केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ११ गते । तमु (गुरुङ) सञ्चारकर्मी सङ्घ, नेपालले ६ जना पत्रकारलाई तमु पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । 

सङ्घले आज यहाँ आयोजित कार्यक्रममा प्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट हिरालाल गुरुङ (चितवन) र एमबी (मानबहादुर) आस्था मगर (कास्की) लाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि जनही २० हजार १ रुपियाँ रहेको छ । 


त्यस्तै, तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रत्ना गुरुङ (स्याङ्जा), लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट कार्टुनिष्ट अनुप गुरुङ (काठमाडौँ), सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट करिश्मा गुरुङ (तनहुँ) पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि जनही १० हजार १ रुपियाँ नगद रहेको छ । 

सोहीअनुसार तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट विकास गुरुङ (तेह्रथुम) पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि १२ हजार ५०१ रुपियाँ रहेको पुरस्कार छनौट समितिका संयोजक अनिता गुरुङले बताउनुभयो । 


राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले आज एक समारोहबिच उहाँहरूलाई पुरस्कृत गर्नुभयो । सो अवसरमा उहाँले पत्रकारले खोजमूलक समाचार लेखेर नागरिकलाई सुसूचित गर्नुपर्ने बताउनुभयो । सूचनाको हकको प्रयोग गरी रिपोर्टिङ गरेमा सही सूचनाहरू बाहिर आउने हुनाले त्यसको प्रयोग गर्न उहाँले पत्रकारलाई आग्रह गर्नुभयो । 

सङ्घका अध्यक्ष लाला गुरुङको सभापतित्वमा भएको कार्यक्रममा अनिता गुरुङ, पुरस्कृत हुनेमा एमवी आस्था मगर, करिश्मा गुरुङ, अनुप गुरुङले बोल्नुभएको थियो । पुरस्कारले आफूहरूलाई थप जिम्मेवार भएर पत्रकारिता गर्ने शिक्षा दिएको उहाँहरूको भनाइ छ । सो अवसरमा गुरुङ न्युज डट कम नामक पत्रिकाको लोकार्पण गरिएको थियो ।