• २३ असार २०८२, सोमबार

हात्ती सुन्दरी सेल्फीकली, दोस्रो रिमझिमकली र तेस्रो संवृद्धिकली

blog

यो वर्षको हात्ती सुन्दरी घोषित सेल्फीकलीसँगै दोस्रो रिमझिमकली र तेस्रो संवृद्धिकली हात्तीसँगै प्रतियोगिताका निर्णायक । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली

सौराहा, पुस ११ गते। सौराहामा जारी हात्ती महोत्सवको दोस्रो दिन हात्ती सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ‘सेल्फीकली’ हात्ती यो वर्षको हात्ती सुन्दरी घोषणा भएको छ। 

रामकुमार अर्यालको हात्ती सेल्फीकली पहिलो पटकको सहभागितामै प्रतियोगितामा सुन्दरी घोषणा बनेको हो। सेल्फीकलीलाई माउते किशोर कुमालले प्रतियोगितामा समावेश गराएका थिए।  भीमकाय हात्तीको सुन्दरी प्रतियोगिता पोथी हात्तीका बिच प्रतिस्पर्धा गराइएको थियो।

प्रतियोगितामा सहभागी सात वटा हात्तीलाई उछिन्दै सेल्फीकलीलाई सुन्दरी घोषणा गरिएको हो । हात्ती सुन्दरी प्रतियोगितामा दोस्रो चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षको रिमझिमकली र  तेस्रो रामप्रसाद रिजालको संवृद्धिकली भए।


हात्ती सुन्दरीका माउतेले १५ हजार रुपियाँ, दोस्रो हुनेका माउतेले १० हजार रुपियाँ र  तेस्रोले पाँच हजार रुपियाँ नगद पुरस्कार पाएका छन्। 

हात्तीको सरसफाइ, नङ काटे नकाटेको, घाउ चोट भए नभएको, त्यसको स्वास्थ्य लगायतका मापदण्डलाई  प्रतियोगितामा निर्णयको आधार बनाइएको निर्णायक चितवन राष्ट्रिय निकुञ्जका पशुचिकित्सक डा. विजय श्रेष्ठले जानकारी दिनुभयो। यो वर्ष दर्शकको भोटलाई पनि प्रतियोगिताको निर्णयको आधार बनाइएको थियो। 

यो वर्ष उपाधि विजेता सेल्फीकलीसँगै हरिभक्त घिमिरेको लक्ष्मीकली, शङ्कर शैजुको बिजुलीकली, दीपक भट्टराईको रानीमायाकली र रामकुमार चौधरीको चम्फाकली हात्ती सुन्दरी प्रतियोगितामा  सहभागी भएका थिए।