राममणि दाहाल
हेटौँडा, पुस ११ गते । रोटरी क्लब अफ हेटौँडाले हेटौँडा उपमहानगरपालिका–६ रामनगरमा सञ्चालनमा रहेको सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताललाई ७७ लाखभन्दा बढीको अत्याधुनिक उपकरणहरू सहयोग गरेको छ ।
रोटरी क्लब अफ हेटौँडाले रोटरी इन्टरनेसनलमार्फत ग्लोबल ग्रान्टअन्तर्गत यहाँ आयोजित कार्यक्रममा रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष स्वागत राज प्याकुरेलले हेटौँडा उपमहानगरपालिका–६ का वडाध्यक्ष विष्णु दाहालमार्फत सामुदायिक अस्पताललाई उपकरणहरू हस्तान्तरण गर्नुभएको हो ।
रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्याकुरेलले ७७ लाख ५० हजार रुपियाँ बराबरको पाँच थान उपकरण सहयोग गरेको जानकारी दिनुभयो । रोटरी क्लबले अस्पताललाई पूर्ण स्वचालित हेमाटोलोजी एनलाइजर, पूर्ण स्वचालित बायोकेमिस्ट्री एनलाइजर, अर्ध स्वचालित इलेक्ट्रोलाइट एनलाइजर, अर्ध स्वचालित युरिन एनलाइजर र एचएलपिसि एनलाइजर मेसिन प्रदान गरेको छ ।
क्लब अध्यक्ष प्याकुरेलका अनुसार रोटरी वर्ल्ड फण्ड र रोटरी क्लब अफ प्लाइम्प्टन तथा रोटरी डिस्ट्रिक्ट ११७५ का फाउण्डेसन चेयर रोटरियन मिसन वुडले रोटरी क्लब अफ हेटौँडामार्फत विपन्न समुदायका नागरिक लाभान्वित हुने गरी ती उपकरणहरू सामुदायिक अस्पताललाई सहयोग गरेको हो ।
रोटरी क्लब अफ हेटौँडाका क्लब अध्यक्ष प्याकुरेलले सामुदायिक अस्पतालमा विपन्न समुदायिक बिरामीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न ती उपकरणहरू प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष दाहालले स्वास्थ्यक्षेत्रमा स्थानीय सरकारले गर्नुपर्ने काम सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताल र रोटरी क्लब अफ हेटौँडाले गरेको बताउनुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ हेटौँडाका निवर्तमान अध्यक्ष सुयसराज पराजुली, पूर्व अध्यक्षहरू ऋषिराम घिमिरे, लेखराज पोखरेल, रामप्रसाद शर्मा, प्रस्तावित अध्यक्ष प्रकाश ढकाल, उपाध्यक्ष प्रमेश प्रधान, रोटरीका संस्थापक सदस्यहरुः माधव अधिकारी, विजयकुमार वैद्य, अस्पतालका सल्लाहकार समितिका संयोजक विष्णुप्रसाद ढुङ्गानालगायतका सहभागिता रहेको थियो ।