• १२ साउन २०८१, शनिबार

भूकम्पपीडितको उद्धार र राहत

blog

यही कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभयो । मृतक तथा घाइतेको खोज, उद्धार तथा उपचारको व्यवस्थाका लागि स्वास्थ्यकर्मीको टोलीसहित दुई वटा हेलिकोप्टर र एउटा स्काई ट्रक लिएर उहाँ जाजरकोट र रुकुमपश्चिम पुग्नुभएको थियो । रातिमा भूकम्पले गरेको क्षतिपछि कात्तिक १८ गते बिहानै प्रधानमन्त्री प्रचण्ड प्रभावित स्थल पुग्नुभयो । उहाँको उपस्थिति, निर्देशन र व्यवस्थापनले खोज, उद्धार र उपचारको काम प्रभावकारी बनेको थियो । 

जाजरकोट हुँदै रुकुमपश्चिमको चौरजहारी आइपुग्नुभएका उहाँले चौरजहारी अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाबारे स्थलगत जानकारी लिनुभयो । त्यसपछि सानीभेरी गाउँपालिका अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेको अवस्था र मृतकका परिवारसँग भेटघाट गर्नुभयो । राज्यका सबै संयन्त्रलाई भूकम्पपछिको खोज, उद्धार र उपचारमा परिचालन गर्न उहाँले जिल्ला सुरक्षा समितिमार्फत निर्देशन दिनुभयो । स्थानीय जनप्रतिनिधिलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै उहाँले राज्यले विपत्को सामना गर्न एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।  जिल्ला सदरमुकाम मुसीकोटमा जिल्ला सुरक्षा समितिसँग छलफल र आवश्यक निर्देशनपछि उहाँले जिल्ला अस्पताल सल्लेमा पुगेर भूकम्पका घाइतेको अवस्था जानकारी दिनुभयो । सल्लेबाट जिल्लाको सबैभन्दा बढी प्रभावित आठबिसकोट नगरपालिका पुगेर नगर अस्पतालमा रहेका मृतकका आफन्तजन, भर्ना भएका घाइतेलाई उहाँले भेट्नुभएको थियो । त्यसव्रmममा प्रधानमन्त्री प्रचण्डले आफू चढेर अएको हेलिकोप्टरलाई घाइतेको उपचारका लागि समेत प्रयोग गर्नुभएको थियो । यसै गरी जाजरकोटमा पनि प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट क्षतिको अनुगमन गरी पीडितलाई घाइतेको औषधी उपचार तथा अस्थायी आवासको काम सरकारले तत्काल अगाडि बढाउने प्रतिबद्धता गरी काठमाडौँ फर्किनुभयो । 

त्यति मात्र होइन, गत मङ्सिर अन्तिम सातातिर सङ्घीय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा पनि भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिममा पुगी पीडितसँग प्रत्यक्ष संवाद गरी पीरमर्का बुझ्नुभयो । उहाँले पनि सरकार जनतासँगै रहेको आश्वस्त पार्नुभयो । भूकम्पपछि कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का झन्डै एक साता गृहजिल्लादेखि भूकम्प प्रभावित जिल्लामा घाइतेको उद्धार तथा तत्कालीन राहत वितरणमा क्रियाशील रहनुभयो । त्यस्तै सिँचाइमन्त्री शक्ति बस्नेत गृहजिल्ला जाजरकोट र पूर्वमन्त्री जनार्दन शर्मा गृह जिल्ला रुकुमपश्चिममा सुरुदेखि नै अहिले अस्थायी टहरा निर्माण गर्ने अवधिसम्म सहभागी हुनुहुन्छ । 

अभिभावकको झैँ भूमिका

भूकम्प गएपछिको गतिविधिमा वर्तमान सरकारले समयमै राम्रो रेस्पोन्स गरेको, नेतृत्वदायी भूमिका खेलेको प्रतिक्रिया एकातिर छ भने भूकम्पमा खेलेको भूमिकाबाहेक अन्य गतिविधिमा सङ्घीय सरकारले कर्णाली प्रदेशलाई मूल्याङ्कन गर्न नसकेको आरोप नागरिक तह तथा प्रतिपक्षले लगाइरहेका छन् । भूकम्प प्रभावित स्थलमा प्रधानमन्त्री प्रचण्ड आफैँ सक्रिय भएर खेल्नुभएको भूमिकाले कर्णाली प्रदेश सरकार निकै उत्साहित बनेको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रचण्ड नेतृत्वको सरकारको एक वर्षे अवधिको उच्च मूल्याङ्कन गर्दै कर्णालीमा भूकम्पले ल्याएको विपत् न्यूनीकरणमा सङ्घीय सरकारको सराहना गर्नुभयो । उहाँले यो एक वर्षको अवधिमा कर्णालीलाई सङ्घीय सरकारले हेर्ने नजरमा केही परिवर्तन आएको महसुस गरेको बताउनुभयो । अन्य प्रदेशको तुलनामा कर्णालीलाई बजेट वितरणमा अन्याय नगरिएको दाबी गर्दै उहाँले कर्णालीको विद्युतीकरणमा पनि ध्यान दिइएको टिप्पणी गर्नुभयो ।  प्रचण्ड प्रधानमन्त्री भएपछि कर्णालीमा पटक पटक आउनुभयो । चीन भ्रमणअघि सुर्खेतको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणको एजेन्डामा सिमकोट–हिल्सा सडकमा लगानीको कुरा समावेश गरेको बताउनुभएको थियो । चीनसँगको एजेन्डामा हिल्सा–सिमकोट सडकखण्डको विषय पर्नुले पनि प्रधानमन्त्री प्रचण्ड कर्णालीप्रति संवेदनशील हुनुभएको प्रस्ट हुने प्रवक्ता मन्त्री जिसीले बताउनुभयो । अझ विशेष गरी जाजरकोट भूकम्पका बेला प्रम प्रचण्डको नेतृत्वदायी भूमिकाले प्रदेश सरकारको मनोबल उच्च भएको र अभिभावकले गर्ने भूमिका यस्तै हो भनी उहाँले प्रशंसा व्यक्त गर्नुभयो । 

यति हुँदाहुँदै पनि कर्णालीमा आशा गरे अनुसार केही काममा सङ्घीय सरकारले ध्यान दिन छुटाएको उहाँको भनाइ छ । प्रदेश सरकारलाई दिने अधिकार, बनाउने कानुन, भेरी कोरिडोरका लागि छुट्याइएको बजेट न्यून रहेको मन्त्री जिसीले बताउनुभयो । आगामी दिनमा प्रम प्रचण्डले अन्य प्रदेशको तुलनामा कर्णालीमा बढी ध्यान दिनुपर्ने सुझाव उहाँले दिनुभयो । 

भूकम्पमा विशेष गरी जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्ला नराम्ररी प्रभावित हुन पुगे । भूकम्पबाट जाजरकोटका १०१ जना र रुकुमपश्चिमका ५३ गरी कुल १५४ जनाको मृत्यु भयो भने ९३४ जना घाइते भएका थिए । सल्यानमा मानवीय क्षति भने भएन । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार भूकम्पपछि करिब चार सय सुरक्षाकर्मी खोज तथा उद्धारमा सक्रिय भएका थिए । भूकम्पमा १९ हजार ४२३ घर पूर्ण रूपमा र ३९ हजार ३६९ घर आंशिक क्षति भएका छन् । यस्तै ३९ हजार ३६९ परिवार प्रभावित भएका छन् भने १९ हजार ४२३ परिवार विस्थापित हुन पुगेका छन् । १०६ वटा विद्यालय, ३१ वटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । भौतिक क्षति जाजरकोट, रुकुमपश्चिम, सल्यान, दैलेख, सुर्खेत, कालीकोट र जुम्ला जिल्लामा भएको छ । मन्त्रालयले भूकम्पपछि सरकारी तथा विकास साझेदार सङ्घ संस्थाको सहयोगमा आपत्कालीन राहत पनि पु¥याएको छ । जसमा त्रिपाल १३ हजार ९१४ थान, टेन्ट ४५२ थान, कम्बल १५ हजार ७२५ थान वितरण गरिएको छ । 

यता जाजरकोटमा हालसम्म पाँच हजार २०३ वटा अस्थायी आवास निर्माण भएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार जिल्लामा पहिलो किस्ताबापत भूकम्पपीडितले पाउने २५ हजार रुपियाँका लागि आठ करोड २७ लाख २५ हजार रुपियाँ प्राप्त भएको र सम्बन्धित पालिकाहरूमा पठाइसकिएको छ । यद्यपि नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकामा भने स्पष्ट लगत नआएकाले रकम प्राप्त हुन सकेको बताइएको छ । अस्थायी आवास बनाउने क्रम पनि तीव्र रूपमा भइरहेको उहाँको भनाइ छ । 

उता रुकुमपश्चिममा भने मृतकका परिवार ५३ जनाले रकम पाइसकेका छन् । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले भूकम्पबाट मृत्यु भएका ५३ जनाका परिवारलाई ८३ लाख रुपियाँ प्रदान गरिसकेको जनाएको छ । जिल्लामा तीन हजारभन्दा बढी अस्थायी टहरा बनिसकेका छन् । अस्थायी टहरा बनाउने काम पनि जारी छ । कर्णाली प्रदेश सरकारले आफ्ना प्रदेशवासीको विपत् बिमा रकम पनि प्रदान गरिरहेको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी स्वयम् उपस्थित भएर दुई लाख रुपियाँका दरले विपत् बिमा रकम प्रदान गर्नुभएको छ ।   

Author

ललित बसेल