• २१ असार २०८१, शुक्रबार

सञ्चारमाध्यमले गर्ने आलोचना र खबरदारी सकारात्मक : सञ्चारमन्त्री शर्मा

blog

काठमाडौँ, पुस १० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले गर्ने स्वस्थ आलोचना र खबरदारी सकारात्मक रहेको बताउनुभएको छ । साउथ एसिया नेटवर्क टिभीले आज आयोजना गरेको दोस्रो चाइना-नेपाल मिडिया सम्मेलनको उद्घाटन गर्दै उहाँले सञ्चारमाध्यमले गर्ने खबरदारीले सरकारलगायत राजनीतिक शक्तिलाई गलत बाटोमा जानबाट रोक्ने धारणा राख्नुभयो । 

मन्त्री शर्माले सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल एजेण्डा बनाएर अघि बढेको उल्लेख गर्नुभयो । यसलाई कार्यान्वयन गर्ने सवालमा कमी कमजोरी भएमा सञ्चारमाध्यम तथा पत्रकारले स्वस्थ आलोचना तथा खबरदारी गर्नु सकारात्मक रहेको उहाँको भनाइ थियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक अधिकार पनि पूर्ण नहुने भएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको राजनीतिक अधिकार नेपालमा स्थापित भएको मन्त्री शर्माले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विगतमा हामीले प्राप्त गरेका सफलतामा सञ्चारमाध्यमको ठूलो सहयोग र समर्थन रहँदै आएको छ ।” सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध सुरु भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध भने सयौँ वर्ष अघिदेखिको भएको मन्त्री शर्माले बताउनुभयो । “यस क्षेत्रको मानव सभ्यताको विकाससँगै नेपाल र चीनबीचको सुमधुर सम्बन्ध रहँदै आएको पाइन्छ । भृकुटी, अरनिकोजस्ता विभूतिले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउने काम गरेका छन्”, उहाँले भन्नुभयो ।

सदियौँदेखिको नेपाल र चीनबीचको सम्बन्ध अझ बढी प्रगाढरुपमा अघि बढिरहेको मन्त्री शर्माको भनाइ थियो । आपसी सम्बन्धलाई प्रगाढ बनाउन दुबै देशबाट उच्चस्तरीय भ्रमण पनि हुँदैआएका उहाँले बताउनुभयो । पछिल्लो समय विश्वभरि देखिएको आर्थिक संकुचनको असर सञ्चारमाध्यममा पनि परेको उल्लेख गर्दै मन्त्री शर्माले सामाजिक सञ्जालको बढ्दो प्रयोगले निम्त्याएका चुनौतीको सामना गर्नु साझा सरोकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा यसको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानुन निर्माणको प्रक्रिया थालनी गरिएको छ । सूचना प्रविधिका पछिल्ला आविष्कार प्रयोग गर्दै सबैखाले सञ्चारमाध्यमलाई डिजिटल प्लेटफर्ममा लैजानु अनिवार्य नै भइसकेको छ ।”

सरकार-सरकार र जनता-जनताबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन दुवै देशका सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि यस्ता सम्मेलन फलदायी हुने बताउनुभयो । कार्यक्रममा नेपालका लागि चीनका कार्यबाहक राजदूत वाङ चीन्, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल-चाइना मिडिया फोरमका अध्यक्ष तथा जनआस्था मिडियाका सञ्चालक किशोर श्रेष्ठ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी, साउथ एसिया नेटवर्क टिभीका संस्थापक हाउ झिहोङलगायतले नेपाल-चीन सम्बन्ध र द्विपक्षीय सम्बन्ध विस्तारमा सञ्चारमाध्यको भूमिकाका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा चीनबाट आउनुभएका विभिन्न सञ्चार संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपालका विभिन्न सञ्चार संस्थाका प्रमुख, प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । रासस