• १२ मंसिर २०८१, बुधबार

स्वास्थ्यका कर्मचारी सरुवाको विरोध

blog

बगनासकाली गाउँपालिकाको कार्यालय । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, पुस ९ गते । १८ जना कर्मचारीहरूको सरुवा बदर गर्न बगनासकाली गाउँपालिकाका कर्मचारीले माग गरेका छन् । घर पायक सेवा गर्दै आएका स्वास्थ्यकर्मीले सरुवाको विरोध गर्दै बदर गर्न माग गरेका हुन् ।  

बगनासकाली गाउँपालिकाले गत कात्तिकमा स्वास्थ्य क्षेत्रका १८ जना कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हाे । तीन महिनाअघि नै निर्णय गरेपनि पुस लागेपछि उक्त निर्णय कार्यान्वयन गर्न कर्मचारीलाई पत्र पठाएपछि स्वास्थ्यका कर्मचारीहरूले सरुवाको विरोध गरेका हुन् । 

सिअहेब र अहेब तथा सिअनमी पदमा कार्यरत कर्मचारीले सरुवा स्थानीय स्वास्थ्य सेवा ऐन २०७९ को परिच्छेद ७ को दफा २१ को उपदफा ४ को मर्म र भावना विपरीत रहेको जनाएका छन्। उनीहरूले सरुवामा घर नजिकैको वडामा रहेको स्वास्थ्य चौकीमा सरुवाको माग गरेका हुन् । सरुवाको बदरको माग गर्दै उनीहरू पालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद लम्साललाई निवेदन बुझाएका छन् । 

बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले भने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कर्मचारीको सरुवा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, "कतै कर्मचारी थुप्रिएर बस्ने, कतै सेवाग्राहीले सामान्य उपचारको सेवा पनि नपाउने अवस्थाको अन्त्य गर्न सरुवा गरेका हौँ ।" उहाँले कर्मचारीकै माग र सुझावको आधारमा सरुवा गरिएको बताउनुभयो । 

स्वास्थ्य शाखाका संयोजक मणिराम अधिकारीले भने कर्मचारी सरुवाको विषयमा स्वास्थ्य शाखालाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, "पहिले कर्मचारी सरुवा गर्ने भन्ने जानकारी थिएन, सरुवा भएपछि बल्ल थाहा भयो ।" स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालयका प्रमुखसँग सल्लाह नभएको अधिकारीको गुनासो छ ।