काठमाडौं, पुस ८ गते । पाँचौँ दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा नेपालले वर्चस्व जमाएको छ । प्रतियोगितामा सिनियर पुरुष, सिनियर महिला र जुनियर पुरुषमा गरी ३ स्पर्धामा समान ३/३ स्वर्ण, रजत र कांस्यका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले ३ स्वर्ण, २ रजत र ३ कांस्य हात पार्दै वर्चस्व कायम गरेको हो ।
नेपाल स्केटिङ तथा स्केटबोर्ड सङ्घ र स्केट एड नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर पुरुषमा शरद् राई पहिलो, वसन्त राई दोस्रो तथा धिरज परियार तेस्रो हुनुभयो । सिनियर महिलामा समीक्षा राईले स्वर्ण, खुसी विकले रजत तथा स्वाती श्रेष्ठले कांस्य जित्नुभयो ।
पुरुष/महिलामा दुवैमा पहिलो हुनेले १ हजार, दोस्रोले ५ सय र तेस्रोले २ सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । रुपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा भएको प्रतियोगिताको जुनियर पुरुषमा अभिषेक परियार प्रथम, भारतका मोहम्मद बिन जावेद द्वितीय र कर्मा लामा गुरुङ तेस्रो हुनुभयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ सय, १ सय ५० र १ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।
पुरुष/महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा भएको थियो । दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुङ्गो लगाइएको थियो । विजेतालाई आयोजक सङ्घका अध्यक्ष अच्युत खनाल, उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जागृत पहाडी, महासचिव सत्य थापालगायतले पुरस्कृत गर्नुभयो ।
समापनका अवसरमा गजेन्द्र बर्देवालाई वर्षको उत्कृष्ट स्केटर अवार्डबाट पुरस्कृत गरिएको थियो । उहाँलाई अवार्डसहित २ सय अमेरिकी डलर पुरस्कार प्रदान गरियो । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिभ्सका ३ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष खनालले जानकारी दिनुभयो ।