रमेश विश्वकर्मा
गुल्मी, पुस ८ गते । गुल्मीको धुर्कोट गाउँपालिकाले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वडा नम्बर–१ नयाँ गाउँस्थित नयाँ गाउँ माध्यमिक विद्यालय प्रथम भएको छ ।
जैसिथोकस्थित कालापोखरा खेल मैदानमा तीन दिनसम्म सञ्चालित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको यस विद्यालयले खेलका विभिन्न विधामा नौ स्वर्ण, ६ रजत र सात कांस्य पदक प्राप्त गरेको हो ।
त्यस्तै, द्वितीय भएको वडा नम्बर–३ हाडहाडेस्थित निन्युखर्क माध्यमिक विद्यालयले पाँच स्वर्ण, चार रजत र दुई कांस्य पदक प्राप्त गरेको छ। तृतीय भएको वडा नम्बर–४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयले चार स्वर्ण, चार रजत र तीन कांस्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा पालिका भित्रका ११ वटा माध्यमिक विद्यालयका खेलाडीहरू सहभागी भएका धुर्कोट गाउँपालिकाले जनाएको छ ।
भलिबल, कबड्डी, दौड, सटपुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प लगायतका विभिन्न विधामा प्रतियोगितामा भएको हो । गाउँपालिका उपाध्यक्ष सीता गिरीले प्रथम हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाण पत्र, द्वितीय र तृतीय हुने विद्यालयलाई मेडल र प्रमाण पत्र वितरण गर्नुभयो ।
त्यसअवसरमा उहाँले पुरस्कृत हुने खेलाडी र सहभागी खेलाडीलाई शुभकामना एवम् धन्यवाद दिनुहुँदै गाउँपालिका सधैँ खेलाडीहरूको साथमा रहेको बताउनुभयो । खेलाडीहरूले खेल प्रतियोगितामा जस्तै अनुशासनमा रहेर अध्ययनलाई पनि निरन्तरता दिनुपर्ने भन्दै उहाँले विशेषगरी विद्यार्थीहरूलाई अध्ययनशील बनाउन शिक्षकहरूको अहम् भूमिका रहने बताउनुभयो ।