राजकुमार भट्टराई
खोटाङ, पुस ८ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजना गरिएको तीनदिने निःशुल्क आँखा शिविरमा ९१ जनाको सफल शल्यक्रिया गरिएको छ । हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीबारदेखि शनिबारसम्म सञ्चालन भएको शिविरमा ९१ जनाको अप्रेसनमार्फत उपचार गरिएको हो । शनिबार शल्यक्रिया गरिएका बिरामीहरुको आँखाको पट्टी आइतबार बिहान खोलिएको हो ।
९१ मध्ये ६४ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । अन्य २७ जनाको आँखामा मासु पलाएको, मासुको डल्लो देखिएको (माइनर) शल्यक्रिया गरिएको उहाँको भनाइ छ । तीन दिनसम्म सञ्चालन भएको शिविरमा पाँच सय ९० जनाले निःशुल्क सेवा लिएका छन् । चार सयभन्दा बढीलाई निःशुल्क औषधि तथा एक सय ५० लाई निःशुल्क चस्मा वितरण गरिएको श्रेष्ठले बताउनुभयो । शल्यक्रिया गरिएको ९१ जनालाई नै कालो चस्मा निःशुल्क प्रदान गरिएको छ ।
शिविरमा आँखा उपचार गराउन हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिकाहरु रावाबेंसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, सोकला गाउँपालिका लगायत अन्य पालिकासँगै ओखलढुङ्गा, उदयपुर जिल्लाका नागरिकहरु हलेसी आएका थिए । आँखाको समस्या भएका वृद्धवृद्धादेखि बालबालिकासम्मलाई परिवारका अन्य सदस्यले शिविरमा लिएर आएका थिए ।
आँखाको समस्या भएका नागरिकहरुको सहजताका लागि हलेसीमा आयोजना गरिएको निःशुल्क आँखा शिविर हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्रज्योति सङ्घ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको हो । शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको छ ।
शिविरको बिहीबार हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले औपचारिक उद्घाटन गर्नुभएको थियो । शिविरको औपचारिक उद्घाटन गर्दै प्रमुख राईले नगरपालिकाले नागरिकको स्वास्थ्य उपचारका लागि आँखा शिविरसँगै विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । पाठेघरको समस्या भएका महिलाहरुको निःशुल्क अप्रेसनदेखि नगर अस्पताल सञ्चालन गरेर बिमा गर्ने र बिमाको उपचार हुने व्यवस्था मिलाउनेसम्मको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताउनुभएको थियो ।
हलेसीमा लगातार दोस्रो वर्ष आँखा शिविर आयोजना गरिएको हो । अघिल्लो वर्ष भएको आँखा शिविरमा सात सय ६५ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए । जसमध्ये ७६ जनाको शल्यक्रिया भएको थियो ।