• २६ वैशाख २०८१, बुधबार

सरकारी सञ्चारमाध्यमले जनताको आवाज बोल्नुपर्छ : मन्त्री शर्मा

blog

नेपाल टेलिभिजन इटहरी च्यानलको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : मन्त्री शर्माको सचिवालय

इटहरी, पुस ८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमले जनताको आवाज बोल्नुपर्ने बताउनुभएको छ ।

नेपाल टेलिभिजन इटहरी च्यानलको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारी सञ्चारमाध्यमले सरकारको सन्देश सार्वजनिक गर्ने मात्र होइन, सरकार र जनताबिचको पुलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

लामो समयदेखि सरकारी सञ्चारमाध्यमले सरकारको भजन गाउँछन् भन्ने भाष्य स्थापित गर्न खोजिएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले सरकारी सञ्चारमाध्यमले राज्यको सन्देश जनतासम्म पुर्‍याउने र जनताको आवाज राज्यसम्म पुर्‍याउन पुलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल टेलिभिजनले गाउँमा छरिएर रहेका प्रतिभालाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्नतिर लाग्नुपर्ने बताउनुभयो । नेपाली समाजको बहुल संस्कृतिला उचित स्थान दिएर सबै भाषाभाषीलाई अघि बढाउन सरकारी सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा खुशी व्यक्त गर्नुहुँदै मन्त्री शर्माले त्यसमा सरकारले पनि आवश्यक अनुदानको व्यवस्था गरिरहेको जानकारी दिनुभयो । यसलाई अझै अघि बढाएर लैजानुपर्ने र सरकारी सञ्चारमाध्यम बहुभाषिक नेपालीको आवाज बन्नुपर्ने उहाँले स्पष्ट गर्नुभयो ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगले बाहिरी संस्कृति थोपरिन थालेको र यसले पूर्वीय सभ्यतामा असर पुगेको उल्लेख गर्नुहुँदै उहाँले नेपालको मौलिक र लोकसंस्कृतिलाई प्रोत्साहन गर्ने सामग्री निर्माण र प्रसारणमा जोड दिन पनि आग्रह गर्नुभयो ।

मन्त्री शर्माले देशबाट युवा पलायन बढिरहेकाले युवाहरूलाई देशभित्रै केही गर्न सकिन्छ भनेर आशावादको जागृत गर्ने सामग्री उत्पादन र प्रकाशन प्रसारण गर्न पनि उहाँले सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । यसका लागि विभिन्न क्षेत्रमा भइरहेका उदाहरणीय कार्यको प्रचार हुँदा मात्रै पनि धेरैका लागि प्रेरणा हुने बताउनुभयो ।

संविधान, व्यवस्था र अग्रगमनलाई थप स्थापित गर्ने सञ्चारमाध्यमको पनि दायित्व भएको औंल्याउँदै उहाँले अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर अराजकतालाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ शाह, महाप्रबन्धक फूलमान वल र इटहरी च्यानल प्रमुख राजेन्द्रराज तिमिल्सिनाले टेलिभिजनको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।