सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, पुस ८ गते । बागमती प्रदेश सरकारले सिन्धुपाल्चोकका सात वटा सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरेको छ । मेलम्ची नगरपालिका–११ को इन्दे्रश्वरी माध्यमिक विद्यालय, तेस्र्रे मावि, कुविण्डेको सेतीदेवी मावि, सानोसिरुवारीको सिद्धिगणेश मावि, थुम्पाखरको महेन्द्रोदय माविलाई अनुदानमा विद्यालय बस प्रदान गरिएको हो ।
त्यस्तै थाङ्पाल भ्याली पाँचपोखरी, लागर्चे र चौताराका सामुदायिक विद्यालयलाई केही दिनभित्रै विद्यालय बस उपलब्ध हुने भएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने कार्यक्रम अन्तर्गत विद्यालय बस हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
मन्त्री दुलालले आफू प्रदेशको सामाजिक विकासमन्त्री हुँदा प्रदेशका ३० वटा विद्यालयलाई शैक्षिक र भौतिक रूपमा सुविधासम्पन्न बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रम अन्तर्गत अहिले सिन्धुपाल्चोकका सात विद्यालयलाई अनुदानमा बस उपलब्ध गराइएको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७५/७६ को बजेट तथा कार्यव्रmममार्फत बस उपलब्ध गराउने नीति सुरु गरेको बताउनुभयो । दुलाल यसअघि प्रदेशको सामाजिक विकासमन्त्री हुँदा एक विद्यालय एक नर्स, विद्यालय बस, सामुदायिक विद्यालयमा छात्रवास कार्यक्रम ल्याउनुभएको थियो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विद्यालय बस सञ्चालनमा धेरै चुनौती रहेको र त्यसमा बागमती प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । इन्दे्रश्वरी माविका प्रधानाध्यापक देवी श्रेष्ठले विद्यालय बसले विद्यार्थीलाई आवतजावतमा सहज हुने बताउनुभयो ।