• १४ मंसिर २०८१, शुक्रबार

बहुमत ल्याउन कांग्रेसलाई कसैले रोक्न सक्दैन : अर्थमन्त्री डा. महत

blog

बागमती प्रदेश कांग्रेस सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महत।

काठमाडौं, पुस ७ गते। नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औँल्याउनु भएको छ। शनिबार बागमती प्रदेश कांग्रेस प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, ‘‘पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ। ’’

बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने नेपाली कांग्रेसको समस्या भएको उहाँले बताउनुभयो।  आन्तरिक निर्वाचनमा आमनिर्वाचनभन्दा चर्को रूपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपर्‍यो भने बैठकमै नआउने कांग्रेस पार्टीको समस्या भएको उहाँले स्पष्ट पार्नुभयो। 

‘‘केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ।  यो निर्णय हामीले एक स्वरमा जनताको बिचमा लिएर जान जरुरी छ’’, डा. महतले भन्नुभयो, ‘‘हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलग अलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ। ’’

उहाँले  पार्टीभित्र एकले अर्कालाई सुन्ने मानसिकता भए बहुमत ल्याउन कांग्रेसलाई कसैले नरोक्ने बताउनुभएको हो।  ‘‘संसदमा हाम्रो तीन गुण बढी सङ्ख्या छ,  हामीले लोभ गर्दा सत्ता गुमेको हो भनेर आलोचना भएकै हो।  यो कुरालाई भुलेर हामी अर्को बहसमा लाग्यो भने हामी काहीँ पुग्दैनौँ’’, डा. महतले भन्नुभयो, ‘‘सङ्गठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकअर्कालाई सहने, सम्मान गर्ने, एकअर्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ।  यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन।’’