• १३ पुस २०८१, शनिबार

घुम्ती शिविरबाट दुई हजार बढीले लिए सेवा

blog

शिविरबाट सेवा प्रवाह गर्दै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, पुस ७ गते । गुल्मी दरबार गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट दुई हजार २४२ जनाले सेवा लिएका छन् । 

गाउँपालिकाले सातवटा वडामा सञ्चालन गरेको घुम्ती शिविरबाट १४९ योजना सम्झौता, २३३ व्यवसाय दर्ता तथा नवीकरण, ३२९ ज्येष्ठ नागरिक परिचयपत्र वितरण, ६६० जनाको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, ७१ कृषकको माटो परीक्षण, ७५१ कृषकलाई पशुपन्छीसम्बन्धि परामर्श तथा औषधि वितरण र २१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको हो । 

पालिका भित्रका नागरिकलाई घरदैलोबाट सेवा प्रवाह गर्न वडास्तरबाटै सेवा प्रवाह गरिएको अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो । पालिकाले प्रदान गर्ने सेवा लिन पालिकामा आउँदा स्थानीयलाई खर्चिलो र समय लाग्ने भएकाले स्थानीय सरकारको अनुभूति दिन घुम्ती शिविरबाट सेवा प्रदान गरिएको उहाँको दाबी छ ।

आफूहरुले स्थानीय जनतालाई सहज रुपमा सेवा प्रदान गर्न र पालिका भित्रका नागरिकको सुख, दुःखको सारथी बन्न सदैव तयार रहेको भन्दै सोहीअनुसार योजना बनाएको थापाले बताउनुभयो ।

गाउँ टोलबाटै सेवा लिन पाउँदा आफूहरुलाई स्थानीय सरकार साथमा रहेको अनुभूति भएको सेवाग्राहीले जनाएका छन् ।