काठमाडौं, पुस ७ गते । नेकपा माओवादी केन्द्रका समर्थक श्रद्देय लक्ष्मणबहादुर कर्माचार्यको ९६ वर्षको उमेरमा गएराति निधन भएको छ । ललितपुरको कुम्भेश्वर निवासी उहाँ नेकपाका संस्थापक मध्येका एक स्व. नरबहादुर कर्माचार्यको सहोदर भाइ हुनुहुन्छ। साथै माओवादी केन्द्र, उर्जा विभागकी सदस्य एवम् नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनकी केन्द्रीय सदस्य सुसन कर्माचार्यका पिता समेत हुनुहुन्छ।
आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली सहित कर्माचार्यको अन्त्यष्टी गरिएको छ। त्यसक्रममा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्माचार्यको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल सहितका नेता, कार्यकर्ता र आफन्तजन श्रद्धाञ्जलीका लागि उपस्थित हुनुहुन्थ्यो।
वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले कर्माचार्यप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै, श्रद्देय दाजु सदा स्मरणीय रहनुहुने बताउनुभएको छ। ललितपुरको कुम्भेश्वरस्थित उहाँको घर करिब नौ दशकदेखि लोकतान्त्रिक एवम् कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण केन्द्र रहँदै आएको थियो।
संस्थापक सदस्य नरबहादुर र लक्ष्मणबहादुर दुबै दाजुहरू आज हामीसँग नरहनु भएपनि उहाँहरु र त्यो घर हामी सबैको आस्था र प्रेरणाको केन्द्र रहिरहने समेत वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो।