तिलाचन पाण्डे
तम्घास, पुस ७ गते । गुल्मीमा चौँथो फोर्टिन स्टार कप फुटबल प्रतियोगिता सुरु भएको छ । फोर्टिन स्टार युवा क्लबको आयोजनामा तम्घासको चिदिचौरमा जिल्ला स्तरीय माध्यमिक तह छात्र फुटबल प्रतियोगिता सुरु भएको हाे ।
फुटबल खेलमा १९ टिम सहभागी भएको क्लबका महासचिव नारायण आचार्यले जानकारी दिनुभयो । खेलको उद्घाटन गर्दै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले खेल क्षेत्रको थप विकास गर्नका लागि नगरपालिका सधै साथमा रहेको बताउनुभयो । स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकाले खेल क्षेत्रलाई थप प्राथमिकता दिनेगरी नगर लागि परेको उहाँको भनाइ छ ।
खेलमा प्रथम हुनेका लागि ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, दाेस्राे हुनेका लागि २५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
माध्यमिक तह कक्षा १० सम्मका लागि मान्यता दिइएको क्लबले जनाएको छ ।
खेलको मुख्य प्रायोजक रेसुङ्गा नगरपालिका हाे । नगरपालिकाले प्रर्यटन क्षेत्रको प्रचार गर्नका लागि जाँउ हिँड रेसुङ्गा कार्यक्रम अभियान चलाएको छ । खेल क्षेत्रमा थप उत्साह प्रदान गर्न मुख्य प्रायोजक बनेको नगरपालिकाले जनाएको छ ।
खेलमा सहभागी हुने खेलाडीहरुको सुरक्षाका लागि क्लबले एक लाख बराबरको बिमा गरिदिएको क्लबका महासचिव नारायण आचार्यले जानकारी दिनुभयो ।