जानु पाण्डे
कपिलवस्तु, पुस ७ गते । कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नम्बर-२ को गौतम बुद्ध माविमा शुक्रवार काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको स्वास्थ्यकर्मीको टोलीले निःशुल्क शिविर सञ्चालन गरेको थियो । शिविरमा १६ जना विशेषज्ञ चिकित्सक खटिएका थिए ।
शिविरमा दुई हजार बढी बिरामीको चेक जाँच गरिएको थियो । मुटु, मिर्गाैला, आँखा, नाक, कान, घाटी, छाला तथा यौन रोग, हाड जोर्नी तथा नशा, मानसिक रोग, महिला तथा स्त्री विशेषज्ञ सेवा, बाल रोग, दाँत रोगको उपचार गरिएको थियो । मुटुको इसिजी, भिडियो एक्सरे, दिसा पिसाब खकार तथा रगत जाँच र औषधि निःशुल्क प्रदान गरेको काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेजका सञ्चालक तथा संघीय सांसद सुनिल शर्माले बताउनुभयो ।
पालिकामा एकैपटक धेरै रोगको चेकजाँच र उपचार भएको पहिलो पटक हो । यसबाट धेरै बिरामी लाभान्वित हुनुभएको छ । निःशुल्क उपचारले अत्यन्त विपन्न समुदायका महिला वृद्धहरु समेत पहिलो पटक उपचारका लागि आएका बुद्धभूमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो । थप उपचार र अप्रेसन गर्नुपर्ने बिरामीलाई शिक्षण अस्पतालमा निःशुल्क उपचार गर्ने बताइएको छ ।
कलेजले हरेक वर्ष एक सयभन्दा धेरै स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । पछिल्लो एक महिनामा काभ्रे, रसुवा, प्युठान, दाङ जिल्लाका पालिकामा शिविर सम्पन्न गरेको छ । सन्तान विदेशमा भएर उपचार गराउन नसकेका वृद्धा, लामो दुरी तथा पहाडका कुनाकुनामा रहेका महिला, अस्पतालको पहुँच नभएका स्थानबाट पहिलो पटक स्वास्थ्य जाँच गर्न आउने गरेका नशा तथा मानसिक रोग विशेषज्ञ डा अनुश्रुती पराजुलीले बताउनुभयो ।
कलेजले २०७७ सालदेखि स्वास्थ्यको सेवाको पहुँच नभएको क्षेत्रमा पालिकासँग समन्वय गरी शिविर सञ्चालन गर्दै आएको छ । काठमाडौंको लच्छीफेदीकाट सुरु गरिएको शिविर सोलुखुम्बु, खोटाङ, भोजपुर अछाम काभ्रे, रसुवा, प्युठानका अत्यन्त विकट तथा दुर्गम पालिकामा सञ्चालन गरिएको अस्पतालका जनसम्पर्क अधिकृत मदनलाल श्रेष्ठले बताउनुभयो । शिविर सञ्चालन हुँदा बिरामीले चर्को मूल्य तिर्ने, समयमा उपचार नपाउने लगायतका सास्तीबाट मुक्त भएको नगरपालिकाका प्रवक्ता तेज बहादुर बस्नेतले बताउनुभयो ।