बुलबुले समाचारदाता
सुर्खेत, पुस ७ गते । वीरेन्द्रनगर सभागृह निर्माणको दोस्रो चरणको काम अलपत्र परेको छ । नक्कली कागजपत्र पेस गरेर ठेक्का हात पारेको निर्माण कम्पनीसँगको सम्झौता रद्द गरिएपछि बाँकी निर्माण कार्य अलपत्र परेको हो ।
मजदुर पिएस जेभी सुर्खेतले दोस्रो चरणको कामका लागि २०७८ सालमा चार करोड रुपियाँको ठेक्का सम्झौता गरेको थियो । २०७९ साल असारसम्म निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको कम्पनीको कागजपत्र नक्कली भएको पाइएपछि उक्त ठेक्का रद्द गरिएको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २०८० साल भदौमा ठेक्का तोडेको हो ।
पहिलो चरणको काम २३ करोड रुपियाँको लागतमा सम्पन्न भए पनि दोस्रो चरणको काम अलपत्र परेको छ । पहिलो चरणको काम सम्पन्न गरी भवन डिभिजन कार्यालय सुर्खेतले २०७७ फागुनमा वीरेन्द्रनगर नगरपालिकालाई सिटी हल हस्तान्तरण गरेको थियो । नगरपालिकाको मातहतमा आइसके पनि पालिकाले त्यसको संरक्षण र व्यवस्थापनमा चासो नदिएको पाइएको छ ।
निर्माण कम्पनीको ठेक्का तोडिसक्दा पनि थप प्रक्रिया थालिएको छैन । ठेक्का तोडिएको चार महिना बितिसक्दासमेत नयाँ प्रक्रिया अघि बढ्न सकेको छैन । सम्झौता रद्द हुनुअघि उक्त कम्पनीले ५५ प्रतिशत काम गरिसकेको छ यद्यपि कम्पनी कालो सूचीमा परेका कारण रकम भुक्तानी नभएको भवन डिभिजन कार्यालय सुर्खेतका प्रमुख रामकृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कम्पनीको कार्यसम्पादन जमानतसमेत कार्यालयको खातामा तानिएको छ । फर्जी कागजपत्र पेस भएकाले अहिलेसम्म एक रुपियाँसमेत कम्पनीले पाएको छैन । अहिले दोस्रो चरणको काम अलपत्र परेको छ । प्रमुख आचार्यका अनुसार नयाँ ठेक्का लगाउने प्रक्रियाका लागि सहरी विकास तथा भवन निर्माण विभागको निर्देशन आएको छैन । नगरपालिकाले समेत चासो दिएको छैन । ४५ प्रतिशत काम बाँकी छ । बनेका संरचनासमेत जीर्ण बन्दै गइरहेको छ ।
एकातर्फ सभागृह निर्माण सम्पन्न भएको छैन भने अर्कातर्फ बनेका संरचना जीर्ण बन्दै गएका छन् । बैठक कक्ष र पर्खाल निर्माण, साउन्ड बक्स, बसाइ व्यवस्थापनलगायतका काम प्रभावित भएको छ । ७८० जना अट्ने क्षमताको सभा कक्ष र १५० व्यक्ति अट्ने दुुई बैठक कक्ष निर्माण भइसकेका छन् । सभा कक्षको सजावटको काम बाँकी छ । सभा कक्ष र बैठक कक्षभित्र साउन्ड बक्स जोड्न बाँकी रहेको र आवश्यक कुर्सी व्यवस्थापन हुन नसकेको बताइन्छ । सबै खालका कार्यक्रम गर्न उपयुक्त सजावटको कामसमेत बाँकी छ ।
संरक्षण र रेखदेखको जिम्मा पाएको वीरेन्द्रनगर नगरपालिकाले चासो नदिँदा निर्माणको काम अघि बढ्न सकेको छैन । भएका संरचनासमेत जीर्ण बन्दै गएका छन् । सभागृह सञ्चालनमा ल्याउने दायित्व नगरपालिकाको हो । नगर प्रमुख मोहनमाया ढकालले सभागृह जुन उद्देश्यले निर्माण गरिएको थियो, सो उद्देश्यबमोजिम प्रयोगमा आउन नसकेको बताउन्भयो । उहाँका अनुसार केही काम गर्न बाँकी छ । उहाँले ठेकेदारका कारण एक वर्षमा सम्पन्न गर्नुपर्ने काम लम्बिएको र बाँकी काम अघि बढाउन पहल थालेको जानकारी दिनुभयो ।
उहाँले नगरपालिकाले मापदण्ड निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभयो । करोडौँ रकम खर्चेर निर्माण गरिएको सभागृह तत्काल सञ्चालनमा ल्याउनुपर्नेे राजनीतिकर्मी मुकुन्दश्याम गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुविधासम्पन्न सभा हल बनेर प्रयोगमा नआउनु नगरपालिकाको लज्जाको विषय पनि हो । अहिलेको नेतृत्वले यथाशीघ्र उक्त सभागृह सञ्चालनमा ल्याउन जरुरी छ ।”
नगरपालिकाले छट्टै समिति गठन गरेर सभागृह सञ्चालनमा ल्याउनुपर्ने माग स्थानीयको छ । सभागृह सञ्चालनमा आए कुनै कार्यक्रमका लागि चर्को शुल्क तिरेर होटलमा जानुपर्ने बाध्यता हट्ने छ ।