• ११ मंसिर २०८१, मङ्गलबार

प्राकृतिक प्रकोपको जोखिम

blog

पृथ्वीको सतहमा दुई किसिमका घटना हुन्छन् । पहिलो प्रकृतिजन्य घटना र दोस्रो मानवजन्य घटना । प्रकृतिजन्य घटनाभित्र ज्वालामुखी, भूकम्प, बाढी, पहिरो, सुक्खा, चक्रवात, हिमपात, शीतलहर आदि पर्छन् । मानवजन्य घटनाभित्र अपहरण, युद्ध, दङ्गा, आतङ्कवाद, विषाक्त रसायन, जनसङ्ख्या विस्फोटन आदि पर्छन् । यी प्रकोपमध्ये यस लेखमा भूकम्पबारे चर्चा गरिन्छ । भूकम्प प्रकृतिजन्य घटनाभित्र परे पनि मानवजन्यमा पनि पर्छ किनभने भूकम्पले मात्र मानिसको ज्यान नलिई, मानिसले नै निर्माण गरेका संरचना भूकम्प भत्कँदा मानिसको ज्यान जान्छ । भूकम्पले थोरै समयमा निकै धेरै धनजनको क्षति हुन्छ । भूकम्पबाट मध्यवर्ती एसिया, जापान, पश्चिमी एसिया बढी प्रभावित क्षेत्र हुन् । भूसंरचनाको दृष्टिले हाम्रो देश पृथ्वीको एउटा नवीन हिस्सा हो । यो अहिले पनि निर्माणको अवस्थामा छ । अतः सन्तुलनको दृष्टिकोणले हेर्दा यो अहिले पनि अस्थिर क्षेत्र मानिन्छ । यसै कारण यस क्षेत्रमा भूकम्प गइरहन्छ । 

यस क्षेत्रलाई भूकम्पीय क्षेत्र किन भनिन्छ भने कुरालाई बुझ्न भूसन्तुलन सिद्धान्त जान्नु पर्ने हुन्छ । हिमालय पर्वतको मुनि कम घनत्व भएका पदार्थ छन् । ठुलो मैदानी भाग (सिन्धु गङ्गाका मैदान) को मुनि अधिक घनत्व भएका पदार्थ छन् । यसै कारण यो भाग सन्तुलित देखिन्छ । यस कुरालाई पहिलोचोटि व्याख्या गर्ने अमेरिकी भूगर्भशास्त्री डटन थिए । उनका अनुसार पृथ्वीभित्रको सन्तुलन घटबढ हुँदा पृथ्वीमा हलचल उत्पन्न हुन्छ, जसलाई हामी भूकम्प भन्छौँ । यसको प्रत्यक्ष उदाहरण हाम्रो हिमालय पर्वतमालालाई लिन सकिन्छ । हिमालय पर्वतको स्थानमा कुनै समय टेथिस नामक विशाल महासागर थियो । अहिलेको हिमाली भाग भोलि पुनः महासागरमा परिवर्तित हुन पनि सक्छ । यसको निकै ठुलो भाग बगेर बङ्गालको खाडीमा थुप्रिँदै गएको छ । यस्ता थुप्रिएको पदार्थबाट एउटा टापु नै निर्माण भएको छ, जसलाई ‘न्युमुरे’ टापु भनिन्छ । यसरी पृथ्वीले आफ्नो सन्तुलन मिलाउँदा पृथ्वीमा हलचल भइरहन्छ । 

प्राचीनकालमा मानिसहरू भूकम्पलाई दैवी घटनाको रूपमा लिन्थे । केही मानिस जब पृथ्वीमा पाप बढ्न जान्छ, तब पापको भारले पृथ्वी काम्न थाल्छ भन्ने विश्वास राख्थे । अर्को विश्वास के छ भने कुनै जनावरले पृथ्वीलाई उठाएको छ र उसको हल्लाइले पृथ्वीमा कम्पन हुन्छ । नेपाल र भारतमा के विश्वास गरिन्थ्यो भने पृथ्वी शेषनाग माथि अडेको छ । जब शेषनागले आफ्नो जिउलाई हल्लाउँछ अनि पृथ्वीमा कम्पन पैदा हुन्छ । टर्की, बुल्गेरिया, बोर्नियो तथा बालीका मानिसहरूको के बुझाइ थियो भने पृथ्वी एउटा राँगोको सिङमाथि अडेको छ । जब राँगोले पृथ्वीलाई एउटा सिङबाट अर्को सिङमा सार्छ, तब पृथ्वी डगमगाउन थाल्छ । त्यसलाई उनीहरू भूकम्प भन्थे । यस्तै उत्तरी अमेरिकामा कछुवा, इरानमा गँगटो, तिब्बतमा भ्यागुतो र सिलेबिज द्विपमा सुँगुरमाथि पृथ्वी अडिएको मान्थे । यिनीहरूको के विश्वास थियो भने यी जनावरहरूका हल्लाइले पृथ्वी हल्लिन्छ, जसलाई भूकम्प भनिन्छ । आधुनिक मत भनौँ वा भूगर्भशास्त्रीहरूका अनुसार भूकम्प विशिष्ट कारणबाट जान्छ । यी कारणहरूमा ज्वालमुखी विस्फोट, भूसन्तुलनमा अव्यवस्था, सतह टुक्रिनु, सतह खुम्चिनु, जलीय भार, ग्यासको फैलावट, भूस्खलन, बम विस्फोट आदि छन् । भूकम्प नाप्ने यन्त्रलाई सिस्मोग्राफ भनिन्छ । भूकम्पको गहनता (म्याग्निच्युड) एकदेखि १० अङ्कमा विभाजन गरिएको छ । यसमा ५.५ देखि ८.०० रेक्टरसम्मलाई सर्वनाशी र ८.१ रेक्टरभन्दा माथिलाई प्रलयकारी मानिन्छ । 

भूकम्पले क्षणभरमै मानव निर्मित संरचनालाई ध्वस्त बनाइदिन्छ । रातमा आउने भूकम्पले मानिसलाई भागेर ज्यान जोगाउने अवसर पनि दिँदैन । यस शताब्दीको ठुला भूकम्प ४५ वटा रहेका छन् । यसमा परेर २२ लाख मानिसले ज्यान गुमाए । यसबाट अर्बौं डलरको सम्पत्ति नष्ट भयो । भारत र नेपालका हिमाली क्षेत्रहरू भूकम्पीय जोखिमका क्षेत्र हुन् । नेपाल भूधरातलीय एवं भौगर्भिक हिसाबले भूकम्पीय जोखिममा पर्ने देश हो । हाम्रा दुई छिमेकी देशहरू भारत र चीनसमेत भूकम्प प्रभावित क्षेत्रभित्र पर्छन् । सन् १९७६ मा चीनको राजधानी बेइजिङमा गएको भूकम्पमा परी सात लाख पचास हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । त्यस्तै भारतको गुजरातमा गएको भूकम्पका कारण लगभग तिस हजार मानिसको मृत्यु भएको थियो । यी दुवै भूकम्पमा लाखौँ मानिस घाइते हुनुका साथै अर्बौं धनसम्पत्ति नाश भएको थियो । अहिलेसम्मकै सबैभन्दा ठुलो भूकम्प चिलीमा सन् १९६०, मे २२ मा गएको थियो । जुन ८.९ रेक्टर स्केलको मापन गरिएको थियो । 

नेपालमा विसं १२१८, १३१०, १३१६, १७३७, १७३८, १८२४, १८६६, १८८०, १८९०, १९९०, २०३३, २०४५, २०५३, २०७२, २०८० गरी विभिन्न समयमा भूकम्प गएका छन् । यी भूकम्पले हजारौँ मानिसका ज्यान लियो भने लाखौँ घाइते भए । अर्बौं धन सम्पत्तिको नाश भयो । नेपालमा यसरी बेलाबेलामा गइरहने भूकम्पबाट बच्नका लागि यसबारे सचेतता अपनाउनु पर्छ । नेपालको पहाडी क्षेत्र भूकम्पको बढी जोखिमयुक्त क्षेत्र भएको हुनाले त्यसै अनुसार बच्ने उपाय पनि जान्नु आवश्यक छ । 

नेपालमा ५.० रेक्टरको भूकम्पभन्दा बढीको भूकम्पबाट क्षति धेरै भएको पाइन्छ । विसं २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७९ सालमा डोटी केन्द्रबिन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गयो । २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गयो । २०८० कात्तिक १७ गते शुक्रबार पश्चिम नेपालको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गयो । यसबाट ३५ हजार मानिस घरबारबिहीन भए । यीमध्ये १७ हजार सात सय घर पूर्ण रूपमा भत्कियो र १७ हजार पाँच सय घर नभत्के पनि बस्नलायक रहेन । यस भूकम्पमा परी १५३ जनाको ज्यान गयो । तीमध्ये ८३ जना महिला र ७० जना पुरुष छन् । यस्तै २६४ जना घाइते भए । भूकम्पपछि त्यस क्षेत्रमा हालसम्म चार रेक्टरभन्दा माथिका नौ वटा परकम्प गइसकेका छन् । 

माथि पनि भनियो, नेपाल भूकम्पीय जोखिमको क्षेत्र हो । भूकम्पले गर्दा पश्चिम नेपालका मानिस यतिखेर कष्टपूर्ण जीवन बिताइरहेका छन् । यस्तो कष्टपूर्ण जीवन नेपालको कुन भागमा कति बेला पर्छ ठेगान हुँदैन । भूकम्पले कसैलाई छाड्दैन । एक्कासि आउने हुनाले जो कोही पनि यसको प्रकोपमा पर्न सक्छन् । भूकम्पले आर्थिक अवस्थालाई समेत प्रभावित पार्छ । हुन त हाम्रो आर्थिक अवस्था पनि कमजोर छ । थप प्राकृतिक घटनाहरूले अझ कमजोर बनाउँछ । 

नेपालको कुनै पनि क्षेत्रमा परेको आपत्विपत्मा अर्को क्षेत्रले आफ्नै पीडा सम्झी सकेजति मद्दत गर्न पछि परेका छैनन् । २०४५ साल, २०७२ साल र २०८० सालको भूकम्पमा देखिएका यस्ता सहयोगलाई यसको उदाहरणको रूपमा लिन सकिन्छ । यस्तो बेला मित्रराष्ट्रहरू पनि सहयोग गर्न तत्पर हुन्छन् । बरु सहयोगलाई सही रूपमा प्रयोग गर्ने प्रणाली हामीले बनाउनु पर्छ । अब उप्रान्त यस्ता भूकम्पबाट कसरी लड्न सकिन्छ । त्यसबारे पनि एउटा ठोस योजना बनाइ लागु गर्दा जीवन निश्चिन्त हुन्छ । त्रासदीय जीवनले मानिसलाई कमजोर बनाउँछ । विश्वका धेरै देशमा यस्ता भूकम्पीय क्षेत्रमा धनजनको क्षतिलाई कसरी कम गरिएको छ भन्ने कुराबाट सिकेर भोलिको जीवनलाई अझ सुरक्षित गर्न सकिन्छ । 

भूकम्पमा मात्र होइन, अन्य प्राकृतिक प्रकोपमा पनि कसरी उद्धार, राहत दिन सकिन्छ भनेर योजना बनाउनु पर्छ । जस्तो कि प्राकृतिक स्रोतसाधनको अति दोहनका कारण नेपालका पहाड नाङ्गो भई आफ्नो अस्तित्व जोगाउन लडिरहेका छन् । प्राकृतिक दोहनकै कारण नै वर्षाको समयमा मात्र पहिरो नआई सुक्खा मौसममा पनि यो समस्या देखिने गरेको छ । वनजङ्गलले पहाडी क्षेत्रलाई जोगाएर राख्छ तर यसको अभावमा पहिरो जान्छ । जनसङ्ख्याको अनियन्त्रित वृद्धिले र जथाभावी बस्ती बस्नाले प्राकृतिक दोहन बढेको छ । यसबाट प्राकृतिक प्रकोप निम्तिन सक्छ । प्राकृतिक प्रकोपबाट जोगाउन ‘हरियो वन नेपालको धन’ जस्ता नारालाई पुनः व्यवहारमा उतार्नु पर्छ । यसका लागि स्थानीय सरकार, प्रादेशिक सरकार र सङ्घीय सरकारहरूका अठोट आउनु पर्छ । वनजङ्गलले वर्षालाई सन्तुलित बनाउँछ । पहाडी भूभागलाई जोगाई राख्न मद्दत गर्छ । हिमालय क्षेत्रको अवस्था निकै दयनीय देखिन्छ । हिमालयमा भएको हिउँ पग्लेर काला पहाड मात्र देखिन थालेका छन् । यसलाई पनि नियन्त्रण गर्न सघाउँछ । पर्यटकहरूलाई हिमाल चढ्न अनुमति त दिइन्छ तर सरसफाइ नहुँदा हिमाली क्षेत्र फोहोरको डङ्गुर बन्दै गइरहेको छ । यस्ता कुरामा पनि नियन्त्रण हुन जरुरी छ । 

Author

डा. रामसागर पण्डित