• १२ मंसिर २०८१, बुधबार

कर्णालीमा टाइफाइडविरुद्ध खोप

blog

सुर्खेत समाचारदाता

सुर्खेत, पुस ६ गते । कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा दादुरा र रुबेलाविरुद्धको समेत खोप लगाइने छ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको जानकारी अनुसार सुर्खेतसहित जुम्ला, कालीकोट, दैलेख र सल्यानमा पुस ४ देखि पुस २५ सम्म टाइफाइडविरुद्धको खोप लगाइने छ। निर्देशनालयका खोप फोकल पर्सन नवराज कँडेलले खोप अभियानको तयारी प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो । भूकम्पपछि जाजरकोट र रुकुमपश्चिममा पानीबाट महामारी फैलिन सक्ने भएकाले खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । टाइफाइडविरुद्धको खोप १५ वर्षदेखि ४५ वर्ष उमेर समूहकालाई दिइने छ । दादुरा तथा रुबेलाविरुद्धको खोप ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दिइने छ । खोप फोकल पर्सन कँडेलले सुर्खेतमा टाइफाइडविरुद्धको खोप पुस १२ देखि १५ सम्म पहिलो चरणमा र पुस २१ देखि २५ सम्म दोस्रो चरणमा दिइने जानकारी दिनुभयो । 

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले नौ वटा स्थानीय तह रहेको सुर्खेतमा पहिलो चरणमा पञ्चपुरी, लेकबेँसी नगरपालिका तथा बराहताल, चिङ्गाड र चौकुने गाउँपालिकाका लक्षित समूहलाई खोप लगाइने जानकारी दिनुभयो। दोस्रो चरणमा वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकामा खोप लगाइने छ । भूकम्प प्रभावित जिल्लासँग सीमा जोडिएका कारण यस पटक आकस्मिक खोप अभियान सञ्चालनगरिएको जनाइएको छ। 

कसले नलगाउने ?

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार टाइफाइडविरुद्धको खोप गर्भवतीले लगाउन मिल्दैन। निर्देशनालयका प्रदेश खोप फोकल पर्सन नवराज कँडेलका अनुसार छ महिनासम्मका बालबालिका भएका आमा, एड्स भएको अवस्था, उच्च ज्वरो आएको तथा सिकिस्त बिरामी परेका, गम्भीर खालको एलर्जी भएकाले यो खोप लगाउन मिल्दैन।

खोपपछिको सामान्य असर

टाइफाइडविरुद्धको खोप लगाएपछि सामान्य असर देखिने गर्छ। निर्देशनालयका खोप फोकल पर्सन कँडेलका अनुसार खोप लगाएको ठाउँ रातो हुने, सुन्निने, बिबिरा आउने, वाकवाकी लाग्ने तथा बान्ता हुने, हल्का ज्वरो आउने, टाउको दुःख्ने, आलस्य लाग्ने जस्ता सामान्य असर देखिने गर्छ । यस्ता सामान्य असर देखिए नआत्तिन अनुरोध गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप फोकल पर्सन घनबहादुर बुढाले सुर्खेतका लागि पर्याप्त खोप आउने जानकारी दिनुभयो । सुर्खेतमा खोप लगाउने १५ देखि ४५ वर्ष उमेरका दुई लाख एक हजार नौ सय लक्षित समूह भएकाले खोपको सुनिश्चितता भएको बताइन्छ । उहाँका अनुसार विद्यालयका साथै वडाहरूमा भएका आधारभूत स्वास्थ्य केन्द्रलाई नै खोप केन्द्र तोकिने छ ।