• १४ मंसिर २०८१, शुक्रबार

वक्तृत्वकलामा भानु मावि प्रथम

blog

वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीलगायत। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ५ गते। लिम्बू समुदायको सांस्कृतिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसर पारेर ताप्लेजुङमा आयोजना गरिएको अन्तर विद्यालयस्तरीय वक्तृत्वकलामा भानुजन माध्यमिक विद्यालय प्रथम भएको छ।  

सदरमुकाम फुङ्लिङस्थित लिटलबुद्ध आवासीय माध्यमिक विद्यालयमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा भानुजन मावि प्रथम भएको हो। 

वक्तृत्वकलामा लिटलबुद्ध आवासीय माध्यमिक विद्यालय द्वितीय, अक्सफोर्ड आवासीय माध्यमिक विद्यालय तृतीय र सेन्ट म्यारिज बोर्डिङ स्कुल सान्त्वना भएको छ।  चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्र थेबेका अनुसार विद्यार्थीहरूको वाक (बोल्ने) क्षमता विकासमा सहयोग पुर्‍याउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो। 

वक्तृत्वकला प्रतियोगितामा विभिन्न आठवटा विद्यालयले सहभागिता जनाएका थिए।  वक्तृत्वकलाका विजेतालाई नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको समिति संयोजक थेबेले जानकारी दिनुभयो।  उहाँकाअनुसार वक्तृत्वकलासँगै चासोक तङ्नाममा लिम्बू संस्कृतिमा आधारित याःलाङ (धान नाच), केःलाङ (च्याब्रुङ नाच), हाक्पारे, ख्यालीजस्ता प्रतियोगितात्मक कार्यक्रम पनि राखिएको छ। 

यस्तै चासोक तङ्नामकै अवसरमा कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिता पनि आयोजना गरिएको छ।  फुटबल प्रतियोगिता जारी रहेको छ भने बुधबार सुरु भएको चासोक तङ्नाम कार्यक्रम पुस ११ गते बुधबार सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।