• २७ वैशाख २०८१, बिहिबार

धेरै खेल खेल्न पाउनु नै खुसी : महिला क्रिकेटर

blog

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिता अघि ट्रफी सार्वजनिक गर्दै आठै टोलीका कप्तानहरू । तस्बिर : केशव गुरुङ

काठमाडौँ, पुस ४ गते । नेपालमा पछिल्लो समय क्रिकेटको माहौल ह्वात्तै चुलिएको छ । विशेषगरी पुरुष क्रिकेटले टी–२० विश्वकप यात्रा तय गरेपछि नेपाली क्रिकेटको माहौल तातिएको हो ।

पुरुष क्रिकेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ठुलो फड्को मारिरहँदा नेपाली महिला क्रिकेटको स्तर सोचेजस्तो बन्न सकेको छैन । वर्षमा एकाध प्रतियोगिता खेलेर घरमै थन्कनु पर्ने महिला क्रिकेट खेलाडीको बाध्यता छ । 

यही बाध्यतालाई केही हदसम्म अन्त्य गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबारदेखि काठमाडौँमा प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिता आयोजना गर्दैछ । पुस १७ गतेसम्म मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र विभागीय टोलीको एपीएफ क्लबगरी आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता सुरु हुनुअघि बुधबार आठै टोलीका कप्तानले पहिलो पटक लामो ढाँचाको क्रिकेट लिग खेल्न पाउनु नै आफ्ना लागि खुसीको क्षण भएको बताउनुभएको छ । 


कोशीकी कप्तान रुविना क्षेत्रीले वर्षका एक दुई खेल खेलेर बस्नु पर्ने बाध्यतालाई यसपटकको प्रतियोगिताले चिरेको बताउनुभयो । ‘‘क्यानलाई हामी धन्यवाद दिन चाहन्छौँ । पहिलो पटक राउन्ड रोविन लिगको आधारमा महिला खेलाडीले क्रिकेट लिग खेल्ने अवर पाएका छौँ । यसले खेलाडीमा उत्साह थपेको छ । प्रदर्शनमा समेत राम्रो हुने आशा छ,’’ राष्ट्रिय टोलीकी निवर्तमान कप्तान समेत रहनुभएकी क्षेत्रीले भन्नुभयो । 

क्षेत्रीले जस्तै एपीएफकी कस्तान सीताराना मगर, सुदूरपश्चिमको टोलीकी कस्तान ऋतु कनौजिया, कर्णालीकी कप्तान किरण कुमारी कुँवर, मधेशकी कप्तान कविता गौतम, बागमतीकी कप्तान अश्मिना कर्माचार्य, लुम्बिनीकी कप्तान सरस्वती घर्तीमगर र गण्डकीकी कप्तान कुसुम गोदारले पनि लामो ढाँचाको क्रिकेट खेलले प्रदर्शनमा सुधार हुने बताउनुभयो । उहाँहरूले महिला क्रिकेटको प्रतियोगिता आयोजना र अन्तर्राष्ट्रिय सहभागिताका लागि क्यानले चासो दिएकोमा धन्यवाद दिनुभएको थियो । 


क्यानका सचिव पारस खड्काले महिला क्रिकेटको विकासका लागि क्यानले नयाँ योजना बनाएको बताउनुभयो । उहाँले खेलाडीको प्रदर्शनमा सुधार गर्न र थप एक्पोजर दिन राउन्ड रोविन लिग गरिएको पनि बताउनुभयो । प्रतियोगिताका लागि सबै टोलीले खेलाडी घोषणा गरिसकेका छन् । टोलीका नयाँ खेलाडीको समेत आगमन भएको छ ।

प्रतियोगितामा बिहीबार त्रिवि मैदानमा हुने पहिलो खेलमा बागमती र मधेश तथा दोस्रो खेलमा गण्डकी र लुम्बिनीबिच प्रतिस्पर्धा हुनेछ । मूलपानीमा हुने पहिलो खेलमा एपीएफ र सुदूरपश्चिम तथा दोस्रो खेलमा कर्णाली र कोशीबिच प्रतिस्पर्धा हुनेछ । 

प्रत्येक टोलीले एक आपसमा खेलेपछि शीर्ष चार टोलीले प्लेअफ खेल्नेछन्  । शीर्ष दुई टोलीबिच पहिलो क्वालिफायर हुनेछ । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । 


यस्तै एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोलीबिच प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ । क्यानले यस प्रतियोगितालाई यसअघि दुई समूहमा विभाजन गरेर शीर्ष दुई टोलीलाई सेमिफाइनल खेलाउने गर्दथ्यो ।