• १४ मंसिर २०८१, शुक्रबार

हात्तीको आक्रमणबाट कार्यालय सहयोगीको मृत्यु

blog

हात्तीको आक्रमणमा मृत्यु भएका राजवंशी । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, पुस ४ गते ।
 झापामा फेरि हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट हल्दीबारी गाउँपालिका–२ वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ६० वर्षीय पाथल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पाथल बुधबार बिहानदेखि बेपत्ता भएपछि खोजबिन सुरु भएको थियो । वडा नं. २ का वडाध्यक्ष शुकलाल राजवंशीका अनुसार कार्यालय नआई पाथल हराइरहेको भन्दै खोजी गर्न प्रहरीसहित सबैसँग आग्रह गर्नु भएको थियो । स्थानीयले हल्दिबारी जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी पाथल हात्ती आक्रमणका मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो । बेपत्ता भनेपछि आफूहरूले खोजी गरिरहँदा हात्तीको आक्रमणबाट मृत्यु भएको सूचना पाएको उहाँको भनाइ छ ।

बिहान घरबाट निस्केका पाथललाई घर नजिक जङ्गलमा मृत अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ । हात्तीको आक्रमणबाट उहाँको मृत्यु भएपछि स्थानीयहरू त्रसित भएका छन् । केही दिनयता हल्दिबारीको जङ्गलमा हात्तीहरू देखा पर्दै आएको स्थानीयहरूले बताएका छन् ।

चालु आवको साउनदेखि अहिलेसम्म पाँच महिनाको अवधिमा जिल्लामा राजवंशीसहित चार जना व्यक्ति र दुई हात्तीको ज्यान गएको छ । झापाका विभिन्न पालिकामा केही समययता हात्ती र मानवबिचको द्वन्द्व चर्कँदै गएको छ । जिल्लाका विभिन्न जङ्गलमा ४० भन्दा बढी हात्तीहरू रहेको डिभिजन वन कार्यालय झापाको भनाइ छ ।