• १३ असार २०८१, बिहिबार

कञ्चनजङ्घा सेसेलुङ गोल्डकपको तालिका सार्वजनिक

blog

कञ्जनजङ्घा सेसेलुङ गोल्डकपका लागि निर्माण गरिएको अस्थायी प्याराफिट।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ३ गते। ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालन हुने प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरिएको छ। किराँती लिम्बूहरूको सांस्कृतिक चाड चासोक तङ्नामको अवसरमा आयोजित कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो। 

बुधबार भोलिदेखि सञ्चालन हुने गोल्डकप फुटबल प्रतियोगितामा आठ टोलीको सहभागिता रहने चासोक तङ्नाम सञ्चालन समितिले जनाएको छ।  समितिका अनुसार प्रतियोगितामा आयोजक कञ्चनजङ्घा फुङ्लिङ क्लबसहित चक्रघट्टी फुटबल क्लब सुनसरी, रारा फुटबल क्लब धनकुटा, आठराई गाउँपालिका तेह्रथुमको सहभागिता रहने भएको छ। 

यस्तै, पाँचथर फुटबल क्लब, जलथल फुटबल क्लब झापा, बीटी फुटबल क्लब तेह्रथुम र सगरमाथा यूथ क्लब मोरङले प्रतियोगितामा सहभागिता जनाउने भएको छ।  कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेल (प्रतिस्पर्धा) आयोजक कञ्चनजङ्घा फुङ्लिङ क्लब र चक्रघट्टी फुटबल क्बलबिच हुने चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्र थेबेले जानकारी दिनुभयो। 

प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८० रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ।  त्यस्तै, उपविजेताले एकलाख ५१ हजार २८० रुपियाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छ।  लिम्बू समुदायको संस्कार, संस्कृतिको जगेर्ना साथै प्रवर्द्धन गर्ने उद्देश्यले फुटबल प्रतियोगितासहित चासोक तङ्नाम (न्वागी पर्व) मनाउन लागिएको आयोजकले जानकारी दिएको छ।  

प्रतियोगिता बुधबार सुरु भएर पुस ११ गते बुधबार सम्पन्न हुने छ।  चासोक तङ्नाम तथा कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताका लागि चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजङ्घा फुङलिङ क्लब र ङा वोरक सङ्जुम्बो फुङ्लेङ ताप्लेजुङ आयोजकको भूमिकामा रहेका छन्।  

फुटबल प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने भएको छ।  प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि समितिका संयोजक थेबेले जानकारी दिनुभयो।