शेरबहादुर राई
ओखलढुङ्गा, पुस ३ गते । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका दुई हजारभन्दा बढी विद्यार्थीलाई न्यानाे कपडा वितरण गरिएको छ । सोवर्स एक्सन नेपालको सहयोगमा गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका कक्षा तीनदेखि १२ सम्मका विद्यार्थीलाई न्यानाे कपडा वितरण गरिएको हो ।
चिसो मौसममा जाडोबाट जोगाउन विद्यार्थीलाई निःशुल्क न्यानो कपडा वितरण गरिएको सोवर्स एक्सन नेपालका प्रमुख आचार्य पासाङ वाङ्डु शेर्पाले बताउनुभयो । दुई हजार पाँच सयका दरले ज्याकेट खरिद गरेर विद्यार्थीलाई निःशुल्क हस्तान्तरण गरिएको शेर्पाको भनाइ छ ।
हाललाई कक्षा तीनदेखि १२ सम्मका विद्यार्थीलाई न्यानाे कपडा उपलब्ध गराइएको र छिट्टै बाल कक्षादेखि दुई कक्षाका बालबालिकालाई पनि मिल्ने न्यानाे कपडाको व्यवस्था गरेर वितरण गर्ने योजना रहेको शेर्पाले जानकारी दिनुभयो । विद्यार्थीको आवश्यकता र गाउँपालिकाको मागको आधारमा विद्यार्थीलाई चिसो एवम् जाडोबाट जोगाउन न्यानो कपडा उपलब्ध गराएकोमा सहयोगी संस्थालाई खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले धन्यवाद व्यक्त गर्नुभएको छ ।
चिसो ठाउँका बालबालिकालाई दैनिक विद्यालय आउनजान सहज भएको गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो । विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको अध्यक्ष शेर्पाको भनाइ छ । जाडोमा न्यानो कपडा पाएपछि खिजिदेम्बाका विद्यार्थी र अविभावक खुसी भएका छन् ।