• १८ असार २०८१, मङ्गलबार

हल्दिबारीमा भेटिए पुरातात्त्विक इँटा

blog

झापा, पुस २ गते । दक्षिण झापाको हल्दिबारी गाउँपालिका-४ च्याङ्ग्राबन्ध गाउँमा पुरातात्त्विक महत्त्वका सामग्री भेटिएका छन् । स्थानीयवासीले खेतबारी जोत्ने र खाल्डो खन्ने क्रममा अनौठा इँटा, भाँडाकुँडा र इनार भेटेका हुन् । 

“ती सामानको कुनै सरकारी निकायबाट खोज तथा अनुसन्धान भएको छैन । बारीमा तरकारी लगाएका थियौँ,” स्थानीय मञ्जु बरालले भन्नुभयो, “ट्युबेलको पानीले पुग्दैन भनेर इनारका लागि खाल्डो खन्दै थियौँ । अलिकति गहिरो खन्दा घ्याम्पो आकारको पुरानो इनार पो भेटियो ।” गाउँलेले गाड्धन होला भनेर अनुमान लगाए पनि त्यहाँ कुनै बहुमूल्य धातु भने नभेटिएको उहाँले बताउनुभयो ।

बरालका अनुसार उक्त इनार आठ फिट गहिरोसम्म उधिनेर फेरि पुरिएको छ । बरालकै खेतबारीमा अहिले गाई, कुखुरा र मान्छेको पाइला अङ्कित अनौठा चारपाटे इँटा धेरै भेटिएका छन् । “हेर्दा बिस्कुट जस्ता चारपाटे यी सबै पुराना इँटा हुन्”, उहाँले बारीका इँटा देखाउँदै भन्नुभयो । च्याङ्ग्राबन्ध गाउँमा विराट राजाको दरबारको भग्नावशेष हुनसक्ने स्थानीयवासीको अनुमान छ । 

दक्षिण झापामा किच्चकबधस्थल र विराटनगरमा विराट राजाको दरबार रहेको पहिचान भइसकेकाले मध्यभागमा पर्ने यो स्थान विराट राज्यकालीन हुनसक्ने नेपाल पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटाले बताउनुभयो । “मैले पनि त्यहाँ भेटिएका अनौठा इँटा हेरेको छु,” उहाँले भन्नुभयो, “अहिलेसम्म सरकारी तहबाट कुनै खोज अनुसन्धान नभएकाले ती वस्तु कहिलेका हुन् भनेर यकिनका साथ भन्न सकिने अवस्था रहेन । ती सामान पुरातात्त्विक महत्वका हुन् भनेर चाहिँ सजिलै अनुमान गर्न सकिन्छ ।”

सापकोटाले च्याङ्ग्राबन्ध गाउँका धेरै खेतबारीमा वि.सं.२०४२ देखि नै पुराना इँटा र भाँडाकुँडा भेटिएको जनाउँदै पुरातत्त्व विभाग र इतिहासका अन्वेषकहरूले चासो राख्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार किच्चकबध क्षेत्र नजिकै भएकाले ती सामग्री र भग्नावशेष विराट राज्यकालीन हुनसक्ने सम्भावना छ । हल्दिबारी गाउँपालिकाका गुनासो सुन्ने अधिकारी राजन न्यौपानेले पुराना भाँडाकुँडा र इँटा भेटिएको भन्ने सुन्नमा आएको बताउनुभयो । 

ती सामान कति ऐतिहासिक छन् भनेर अनुसन्धानको खाँचो रहेको उहाँले बताउनुभयो । हल्दिबारीबाट १७ किलोमिटर सडक दूरीमा ऐतिहासिक किच्चकबधस्थल रहेको छ । विराट राज्यकालीन किच्चकलाई बध गरिएको स्थानको रूपमा किच्चकबध स्थललाई मानिएको छ । किच्चकबध स्थलमा विराट राज्यकालीन इँटा, पर्खाल, भवन र इनार सतहमुनि पुरिएको अनुमान गरिएको छ । जसमध्ये इँटा, पर्खाल र भाँडाकुँडा उत्खनन गरेर निकालिएका छन् । 

च्याङ्ग्राबन्धमा अहिले भेटिएका इँटा किच्चकबध स्थलमा उत्खनन्बाट भेटिएका इँटासँग मिल्दोजुल्दो रहेका पत्रकार सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार हल्दिबारी-४ मै खेतबारीमा पुरानो पर्खालको एउटा भग्नावशेषसमेत भेटिएको छ । स्थानीयवासीका अनुसार यहाँ राणाकालदेखि नै एक जना सेनाका जर्नेलले हुकुम प्रमाङगीबाट २० बिघा जग्गा पाएका थिए । स्थानीयवासीले सोही कारण गाउँलाई जर्नेल कामत पनि भन्ने गरिएको बताएका छन् । रासस