• १८ असार २०८१, मङ्गलबार

खोटाङमा धान उत्पादन घट्यो

blog

राजकुमार भट्टराई 

खोटाङ, पुस २ गते । खोटाङमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा एक हजार ६ सय १२.७३ मेट्रिक टन कम धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र खोटाङले जनाएको छ । 

गत आर्थिक वर्ष २०७९-०८० मा जिल्लामा २८ हजार ८ सय ९२ मेट्रिक टन धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०८०-०८१ मा घटेर २७ हजार २ सय ७९.२७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र खोटाङका सूचना अधिकारी सञ्जय कुमार पण्डितले जानकारी दिनुभयो । 

पशुचौपायमा देखिएको लम्पी स्किन रोगका कारण यस वर्ष धान उत्पादनमा गिरावट आएको उहाँको भनाइ छ । अघिल्लो वर्ष १२ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । यस वर्ष १२ हजार १ सय २४.१२ हेक्टर क्षेत्रफलमा मात्र धान लगाइएको हो । लम्पी स्किन रोग लागेर गोरु मरेपछि शतप्रतिशत क्षेत्रफलमा किसानले धान रोप्न नसक्दा उत्पादनमा कमी आएको सूचना अधिकारी पण्डितले बताउनुभयो । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लामा प्राय सबै पालिकाहरूमा धान खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७८-०७९ मा बेमौसमी वर्षा र हावाहुरीका कारण धान उत्पादनमा भारी गिरावट आएको थियो । त्यस वर्ष चार हजार ६ सय ४३ मेट्रिक टन कम धान उत्पादन हुँदा किसान निराश भएका थिए । अघिल्लो आर्थिक वर्ष ०७९-८० मा केही सुधार भएपनि यस वर्ष पुनः धान उत्पादनमा कमी आएको छ ।