• १८ असार २०८१, मङ्गलबार

लोपोन्मुख लेप्चा समुदायले मनाए नामवन

blog

इलामको सूर्योदय नगरपालिकास्थित लेप्चा उत्थान मञ्चमा पूजा गर्न बनाइएको थानमा पूजाआजा गरिँदै ।

कोकिला ढकाल

इलाम, पुस २ गते । लोपोन्मुख लेप्चा समुदायले आज नामआल-नामवन-नामसुङ-२३४४ अर्थात् नयाँ वर्ष मनाएका छन् । लाप्चा समुदायले आफ्नो समुदायको सांस्कृतिक पर्वकै रूपमा यो नामवन मनाउने गरेका छन् । 

नामवनको दिनलाई लेप्चाहरू असत्यमाथि सत्यको, पापमाथि धर्मको जित भई राक्षसहरूको अन्त्य भएको दिनका रूपमा मान्ने गरेको लाप्चा समुदायका अगुवा वीरबहादुर लाप्चा बताउनुहुन्छ । "आजको दिन घर–घरमा देवीदेवताको पूजा गर्ने, भगवान्सँग आशीर्वाद माग्ने गरिन्छ । नामवन पूजा गर्न घरभित्र थान बनाइएको हुन्छ, थानमा केराको पात ओछ्याइन्छ", लाप्चाले भन्नुभयो, "त्यसमाथि दियो कलश, माछा वर्षदिनभरि देवतालाई भाग छुट्याइ राखेको अन्नबाली, कोदोको जाँड, चिउरा आदि राखिन्छ । केराको उल्टा र सुल्टा पातमा राखिएका ती सामग्रीमध्ये दिवङ्गत आत्माका लागि उल्टा र सुल्टा जीवितका लागि भएको विश्वास गर्ने गरिएको छ ।"

प्रकृतिपूजक लेप्चाहरू आफूहरू कञ्चनजङ्घा पर्वतबाट उत्पत्ति भएको विश्वास गर्छन् र नामवनमा कञ्चनजङ्घा पर्वत र प्रकृतिको विशेष पूजा–आराधना गर्ने गरिएको बताइएको छ। "आज लाप्चा समुदायले मासुका विशेष परिकार बनाएर खान्छन् । मासु नखानेले दूध–दही, फलफूल, तरुल, पिँडालु, सखरखण्ड, भुटेको मकै, भटमास, कोदोको रोटी लगायत खाएर रमाइलो गर्दै आजको दिन उत्साहपूर्ण रूपमा मनाउँछन्," उहाँले भन्नुभयो । 

नामवनका अवसरमा इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाले स्थानीय बिदा समेत दिएका छन् । ती पालिकाहरूमा लाप्चा समुदायले विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी मनाएका छन् । 

२०७८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालमा लेप्चाको कुल जनसङ्ख्या तीन हजार पाँच सय ७८ छ । यसमध्ये एक हजार सात सय ६९ पुरुष र एक हजार आठ सय नौ महिला छन् । २०६८ सालको जनगणनामा लेप्चाको कुल जनसङ्ख्या तीन हजार चार सय ४५ थियो । पछिल्लो गणना अनुसार इलाममा लेप्चाको कुल जनसङ्ख्या दुई हजार नौ सय ८३ छ ।