नुवाकोट, पुस १ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले पढाइमा गरेको लगानी कसैले खोस्न नसक्ने बताउनुभएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित कुम्भेश्वर माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘अरू क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ तर शिक्षाको लगानी कसैले खोस्न सक्दैन ।’’
उहाँले राजधानीबाट नजिकै भएको नुवाकोट बसाइँ सराइले शिक्षामा पछाडि परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘राजधानी काठमाडौँ नजिक भएर नुवाकोट पछि पर्यो, हुने खाने पनि काठमाडौँतिर बसाइँ सरे । शिक्षामा कसैले वास्ता गरेन । जसले गर्दा नुवाकोट धेरै पछाडि पर्यो ।’’
विकास सबैका लागि भएको भन्दै उहाँले सबै विकास प्रेमी बन्नुपर्नेमा जोड दिनुभयो । ‘‘०४६ पछि पुल, सिँचाइ, बिजुली विस्तार भयो । हामी विकासप्रेमी हौँ, पार्टी भनेर विभेद गर्दैनौँ’’, मन्त्री डा. महतले भन्नुभयो, ‘‘विकास हुनुपर्छ, विकास सबैका लागि हो ।’’
अप्ठेरो समयमा आफू अर्थमन्त्री भएको उहाँको भनाइ छ । ‘‘म अप्ठ्यारो समयमा अर्थमन्त्री भएको छु, बजेट सीमित थियो, अनावश्यक ठाउँमा धेरै खर्च भएको थियो, बाटो सुविधा भयो भने उत्पादन बढ्छ । त्यो किसिमको प्राथमिकता हामीले दिइरहेका छौँ’’, मन्त्री डा. महतले भन्नुभयो, ‘‘समर्पण र इमान्दारका साथ काम गर्ने कोसिस गरिरहेका छौँ । मेरो मन नुवाकोटमै छ, मेरो क्षमताले भ्याएसम्म काममा लागिरहन्छु ।’’