• २३ असार २०८२, सोमबार

भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न

blog

फाइल तस्बिर

चितवन, पुस १ गते । भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा सुरु भएको भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको हो ।  

नेपाल विद्युत प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार पाइप बिच्छ्याउने काम ८० प्रतिशत सम्पन्न भएको छ । सडक छेउमा उपकरण राख्नका लागि फाउण्डेसनको काम ४० प्रतिशत र तार बिच्छ्याउने काम २५ प्रतिशत सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार भूमिगत विद्युतीकरणका लागि पाइप भूमिगत गर्ने एचजिडी मेसिन तीन वटाले काम गरिरहेका छन् । ठेकेदार कम्पनीले चार वटा समूहमा चार स्थानबाट काम गरिरहेको उहाँले बताउनुभयो । भारतको टाटा प्रोजेक्ट लिमिटेडले विद्युतीकरणको काम गरिरहेको उहाँले जानकारी दिनुभयो । यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गरिरहेको छ ।

सुवेदीका अनुसार अमेरिकी डलरमा टेण्डर भएकाले रकम सामान्य तलमाथि हुने भएपनि ठेक्का रकम दुई अर्ब ५० करोड हाराहारी हुन आउँछ । भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस टर्मिनलसम्म सबै तार भूमिगत गरिने उहाँले जानकारी दिनुभयो । बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिने छ ।

सन २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्ने गरी काम गरिएको भएपनि केही थप समय लाग्न सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको मसान्तसम्ममा विद्युतीकरण भूमिगत गर्ने काम सम्पन्न हुनेछ ।” भरतपुरका ११ किलोमिटर क्षेत्रमा विद्युत भूमिगत गर्न लागिएको हो । एसियाली बैङ्कको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । रासस