• १५ मंसिर २०८१, शनिबार

राजस्व चुहावट भएको आशङ्का

blog

नेपालगञ्ज भन्सार कार्यालय । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, पुस १ गते । नेपालगन्ज भन्सार कार्यालयमा भन्सार तिरेको भए पनि राजश्व चुहावट भएको सूचनाको आधारमा चालु आर्थिक वर्ष २०८०–८१ मा नियमित जसो सवारी साधन नियन्त्रणमा लिई कारबाही गरिएको छ । 

भन्सार तिरेको प्रमाण नभएका मालसामान जफत गरी भन्सार कार्यालयमा बुझाउने गरे पनि अन्य कारणले राजस्व चुहावट भएको भरपर्दो सूचनाको आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनलाई राजस्व अनुसन्धान कार्यालयले जरिवाना गराएर छोडेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो, ‘भन्सारमा राजस्व बुझाएको भए पनि मूल्य, परिमाण, वस्तुको प्रकृति हेराफेरि गरी राजस्व चुहावट भएका सूचना प्राप्त भएमा राजस्व अनुसन्धानमा बुझाइने कानुनी अभ्यास रहेको छ  ।’

राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख सुरेश जोशीले कार्यालयले नियमित विशेष सूचनाको आधारमा नियमितजसो मालवाहक सवारी साधन नियन्त्रणमा लिनेगरेको बताउनुभयो । 

प्रमुख जोशीले भन्नुभयो, ‘यो हाम्रो नियमित काम हो, अनुसन्धानपछि गलत भेटिए जरिवाना तिराउने गरेका छौँ ।’ राजस्व अनुसन्धान कार्यालय कोहलपुरका अनुसार गत साउन २४ गते मालसामानको बिलविजक भएको तर राजस्व अनुसन्धान विभागको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीमा प्रष्टि नभएको पाइएपछि चिनी, मदिराजन्य पदार्थ, चुरोट, चामललगायतका सामान बोकेको पिकअफ भ्यानलाई २५ हजार जरिवाना तिराइ छोडिएको थियो । 

यसैगरी भदौ २६ गते हार्डवेयर र लत्ताकपडालगायतका सामान रहेको भारतीय ट्रक चार लाख ३४० रुपियाँ जरिवाना पछि छोडिएको छ । यसैगरी असोज ५ गते ५१५ बोरा तोरीसहितको भारतीय ट्रकलाई २५ हजार रुपियाँ जरिवाना गरिएको थियो । 

आलु चिप्स रहेको कन्टेनरलाई न्यून मूल्यमा भन्सार जाँचपास भएका मालसामान फेला परेपछि पाँच लाख २१ हजार ४८४ रुपियाँ जरिवाना तिराइ छोडिएको थियो । 

शुक्रबार साँझ भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजस्व अनुसन्धान कार्यालयले शुक्रबार साँझ नेपालगन्जबाट उद्योगी व्यवसायीको अवरोधबिच नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । भन्सार पास भएर आएका सवारी साधनलाई राजस्व चुहावटको नाममा नियन्त्रणमा लिएर व्यवसायीलाई आतङ्कित पार्ने काम भइरहेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले बताउनुभयो । 

राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख जोशीले नेपालगन्जबाट नियन्त्रणमा लिइएको सामान व्यवसायीको रोहबरमा कानुनी प्रक्रिया अघि बढाउन खोजिएको बताउनुभयो । उद्योगी व्यवसायीले अनुसन्धानपछि गलत भेटिए भन्सार कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।