• १२ असार २०८१, बुधबार

सत्यवती एकेडेमी एलपीएल च्याम्पियन

blog

उपाधिसहित सत्यवती एकेडमीका खेलाडी ।

काठमाडौँ, पुस १ गते । आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल्) को उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ। कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई पाँच रनले हरायो । 

रोमाञ्चक खेलमा सत्यवतीले दिएको एक २७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्ट्सले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय २१ रन बनायो । धनगढी स्पोर्ट्सका लागि वसन्त कार्कीले ३५, सुनिल धमलाले २८ तथा अमरसिंह रौटेलाले २७ रन बनाउनुभयो । 

लक्ष्य पछ्याउने क्रममा धनगढी स्पोर्ट्सले ३६ रनमा सुरुवात पाँच विकेट गुमायो। छैटौँ विकेटको लागि वसन्त कार्की र भुवन कार्कीले ३३ रनको साझेदारी गर्नुभयो । भुवनको विकेटपछि सातौँ विकेटको लागि वसन्तले अमरसिंह रौटेलासँग ४३ रन जोड्नुभयो १८औँ ओभरमा अभिषेक कोइरालाले अमरसिंह रौटेलाको विकेट लिँदै सत्यवतीलाई खेलमा फर्काउनुभएको थियो ।  लगत्तै ओभरमा तीर्थराज दासले वसन्त कार्की र दीपक चन्दको विकेट लिनुभयो ।  

जितको लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा धनगढी स्पोर्ट्स क्लबसँग एक विकेट बाँकी रहेको थियो । अन्तिम ओभर बलिङ गर्नुभएका सन्दीप खत्रीले पहिलो बलमा वाइड र दोस्रो बलमा दुई रन दिएपछि तेस्रो बलमा विकास आग्रीको रूपमा धनगढी स्पोर्ट्सले अन्तिम विकेट गुमाएको थियो । 

बलिङमा सत्यवतीको प्लेयर अफ दि म्याच घोषित अभिषेक कोइरालाले चार विकेट लिनुभयो । तीर्थराज दासले दुई तथा फिर्दोश अन्सारी, सन्तोष कार्की र रञ्जित कुमारले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा ६ विकेट क्षेतीमा एक २६ रन बनाएको थियो । सत्यवतीका लागि सन्दीप रजालीले सर्वाधिक ४१ रन बनाउनुभयो । तीर्थराज दासले अविजित २७, फिर्दोश अन्सारीले २२, सन्तोष कार्की र समीर कार्कीले समान १०÷१० रन बनाउनुभयो । बलिङमा धनगढी स्पोर्ट्स क्लबका दीपक चन्द, भोज राज भट्ट र भुवन कार्कीले दुई दुई विकेट लिनुभयो । 

उपाधिसँगै सत्यवती एकेडेमीले दुई लाख ५५ हजार रुपियाँ पुरस्कार पायो ।  उपविजेता धनगढी स्पोर्ट्स क्लबले एक लाख २८ हजार रुपियाँ प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर धनगढी स्पोर्ट्स क्लबका कप्तान भुवन कार्की घोषित हुनुभयो ।

उत्कृष्ट ब्याट्सम्यान शुक्लाफाँटा ब्ल्याक बक्सका किरण ठगुन्ना, उदयमान खेलाडी कैलाली जिल्ला क्रिकेट क्लबका सुधांशु रावल घोषित हुनुभयो । विजेतालाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदलगायतले पुरस्कृत गर्नुभयो।