अमरराज नहर्की
तनहुँ, पुस १ गते । व्यास नगरपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । निर्मल माध्यमिक विद्यालय परिसरमा भएको प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो। उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा व्यास नगरपालिकाका वडा नं १ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख उद्धवराज कट्टेल , निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत, सत्यवती माध्यमिक विद्यालयकी प्रधानाध्यापक पुष्पकला भट्टराई लगायतले देश चिनाउन, मानिस स्वास्थ्य रहन खेलकुदको ठुलो महत्त्व हुने भएकोले खेल क्षेत्रको विकासको लागि सबैले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, हाइजम्प, लङजम्प लगायतका प्रतियोगिताहरू आयोजना गरिएको छ । प्रतियोगिताको पहिलो दिनमा १५ मिटर छात्र दौड प्रतियोगितामा सत्यवती माविका शेरबहादुर गुरुङ प्रथम, महेन्द्र ज्योति माविका विकास विक दोस्रो र महेन्द्र ज्योति माविका आशिष् मिया तेस्रो हुनु भएको छ । छात्रा दौडमा निर्मल माविकी नम्रता गुरुङ प्रथम, निर्मलकै सन्ध्या अधिकारी दोस्रो र सत्यवतीकी सफलता अधिकारी तेस्रो हुनुभयो ।