• १२ मंसिर २०८१, बुधबार

फरक क्षमताका विवेकलाई बुद्धिचाल उपाधि

blog

बुद्धिचाल प्रतियोगितामा सहभागी हुँदै कालीगण्डकी–४ का विवेक पाण्डे ।

रााधाकृष्ण डुम्रे 

वालिङ, पुस १ गते । विवेक राम्रोसँग बोल्न सक्नुहुन्न, हात त चल्दै चल्दैन तर बुद्धिको प्रयोग गर्न भने उहाँ निक्कै माहिर हुनुहुन्छ । शारीरिक रूपले फरक क्षमताका  विवेकले हालसम्म औपचारिक शिक्षा लिनु भएको छैन ।

कालीगण्डकी गाउँपालिका वडा नं. ४ का विवेक पाण्डेले पालिका स्तरीय बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर सबैको ध्यान आकर्षण गर्नुभयो र विजेता समेत बन्नुभयो । विवेकले सहयोगीको साथमा कुशलता पूर्वक बुद्धिचालका गोटी चालेर अन्य प्रतिस्पर्धीलाई टक्कर दिन सफल हुनुभएको हो । 

सानैदेखि बुद्धिचालमा रुचि राख्ने विवेक फुर्सदको समयमा घरमै अनलाइन बुद्धिचाल समेत खेल्नुहुन्छ । नाकको सहायताले विवेक मोबाइल चलाउनु हुन्छ, कहिले पनि विद्यालयको नजानु भएका उहाँले चेस सम्बन्धी अध्ययनका साथै विभिन्न १० वटा अङ्ग्रेजी उपन्यास समेत पढिसक्नु भएको छ । 

जन्मजात अपाङ्गता भएका विवेकले शेयरको कारोबार समेत नाकले नै मोबाइल चलाएर अनि खुट्टाले ल्यापटप चलाएर पाण्डेले गर्दै आएको बताउनुभयो । कालीगण्डकी गाउँपालिका स्याङ्जाले आयोजना गरेका पाँचौँ अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव २०८० ले विवेकको क्षमतालाई बाहिर ल्याउने अवसर जुरुको हो । 

बुद्धिचाल खेलप्रति विवेकको रुचि देखेर नै प्रतियोगिताका लागि वडा नं ४ को तर्फबाट छनोट गरिएको वडा नं ४ का खेल संयोजक चिरञ्जीवी न्यौपानेले जानकारी दिनुभयो । विवेकले प्रतियोगिताको फाइनलमा हरिचन्द्र पाण्डेलाई पराजित गर्नु भएको हो ।