• २१ पुस २०८१, आइतबार

‘सुशासनमा जोड दिउँ, समृद्धि आफैँ आउँछ’

blog

समीक्षा गोष्ठी सम्बोधन गर्दै सामाजिक विकासमन्त्री झपटबहादुर साउँद ।

भवानी ऐर

गोदावरी (कैलाली), पुस १ गते । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले परिणाम देखिने गरी काम गर्न सक्नुपर्ने बताउनुभएको छ । आइतबार धनगढीमा आयोजित प्रदेश तथा स्थानीय सुशासन सहयोग कार्यक्रममा स्थानीय तहको स्वःमूल्याङ्न र वित्तीय जोखिम मूल्याङ्कन सम्बन्धी समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री साउँदले सो कुरा बताउनुभएको हो । 

राजनैतिक व्यवस्था परिवर्तनपछि जनताका इच्छा, आकाङ्क्षा स्वाभाविक बढेको सन्दर्भमा पुरानै ढर्राको काम गराइले सोचेजस्तो परिवर्तन आउन नसक्ने र व्यवस्थामाथि जनतामा असन्तुष्टि बढ्दै जाने खतरा रहेको बताउनुभयो । उहाँले यस अवस्थामा जनताको नजिक रहेको स्थानीय तह र प्रदेश सरकार बढी जिम्मेवार भएर काम गर्नुपर्ने भन्दै सुशासनमा जोड दिन आग्रह गर्नुभयो । 

तीन तहकै जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो दायित्व र जिम्मेवारी बोधकासाथ सुशासनमा जोड दिए वित्तीय जोखिम कम हुने र समृद्धि आफैँ आउने उहाँको भनाइ छ । यस्तै, सुदूरपश्चिम सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले संविधान र कानुनले निर्देशित काम गर्न कसैले कसैलाई नरोक्ने भन्दै समाजमा सकारात्मक परिणाम दिन सबैको साझा दायित्व रहेको बताउनुभयो । 

तीन तहकै सरकारले विधि पद्धति र कानुनको ख्याल गरे वित्तीय जोखिममा कमी ल्याउन सकिने उहाँको भनाइ छ । कार्यक्रममा सहभागी स्थानीय जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखले कार्य क्षेत्राधिकार स्पष्ट नहुँदा आफूहरू निष्क्रियझैँ बस्नुपरेको गुनासो गर्नुभएको थियो भने स्थानीय तहका जनप्रतिनिधिले प्रदेश र सङ्घीय सरकारले कानुन नबनाउँदा आफ्ना केही एकल अधिकार पनि सही हिसाबले कार्यान्वयनमा ल्याउन गाह्रो भइरहेको बताउनुभयो ।