नेत्र शाही
जुम्ला, पुस १ गते । जुम्ला जिल्लामा बालविवाह न्यूनीकरणका लागि सिँजा क्षेत्रका स्थानीय सरकार सक्रिय रूपमा जुटेका छन् । समाजमा व्यापक रूपमा बालविवाह हुने गरेको र त्यसले बहुविवाह, घरेलु हिंसा र मातृशिशु मृत्युदर बढाएकाले स्थानीय सरकार सक्रिय भएका हुन् ।
यस क्षेत्रमा भएका बालविवाहको विषयमा पहिलो पटक अध्ययन गरिएको छ । सिँजा क्षेत्रका तीन वटा स्थानीय सरकार सिँजा, हिमा र कनकासुन्दरी पालिकाको समन्वय तथा प्लान नेपाल र आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपालको सहयोगमा तीन वर्षको बालविवाह व्यापकता सर्वेक्षण तथा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।
गाउँपालिकाको अगुवाइमा सन् २०२०, २०२१ र २०२२ सम्मको तथ्याङ्क अनुसार त्यस क्षेत्रमा बालविवाह घट्दै गएको देखिएको छ । विगतमा सिँजामा बालविवाह विकराल समस्याका रूपमा देखिएको थियो ।
बालविवाहको अवस्था
स्थानीय सरकारको अगुवाइमा सार्वजनिक गरिएको उक्त तथ्याङ्कमा जुम्लाको हिमा गाउँपालिकामा सन् २०२० मा जम्मा ७६९ जनाको विवाह दर्ता भएकोमा ५८३ जनाले बालविवाह गरेका थिए । जसमा वडा नम्बर–१ मा १२६ जना, वडा नम्बर–२ मा ९५ जना, वडा नम्बर–३ मा १०३ जना, वडा नम्बर–४ मा ३२ जना, वडा नम्बर–५ मा ९५ जना, वडा नम्बर–६ मा ६३ जना र वडा नम्बर–७ मा ६९ जनाले बालविवाह गरे ।
सर्वेक्षणको तथ्याङ्क अनुसार सबैभन्दा बढी ९५ प्रतिशत बालविवाह भएको थियो । बालविवाह विषयमा सार्वजनिक गरेको प्रतिवेदनमा हिमा गाउँपालिकामा सन् २०२१ मा जम्मा विवाह १९४ जनामध्ये बालविवाह १३६ जनाले बालविवाह गरे । जसमा वडा नम्बर–१ मा ३७ जना, वडा नम्बर–२ मा १० जना, वडा नम्बर–३ मा ३६ जना, वडा नम्बर–४ मा २१ जना, वडा नम्बर–५ मा १६ जना वडा नम्बर–६ मा ११ जना र वडा नम्बर–७ मा १५ जना छन् ।
सन् २०२२ मा १४४ जनाको विवाह भएकामा ३६ जनाले बालविवाह गरेका छन् । जसमा वडा नम्बर–१ मा शून्य बालविवाह, वडा नम्बर–२ मा ६ वटा, वडा नम्बर–३ मा ३ वटा, वटा नम्बर–४ मा तीन वटा, वडा नम्बर–५ मा १ वटा, वडा नम्बर–६ मा १३ वटा र वडा नम्बर–७ मा १० जनाले बालविवाह गरेका छन् ।
यस क्षेत्रको सिँजा गाउँपालिकामा सन् २०२१ मा १६० जनाले बालविवाह गरेको तथ्याङ्क छ । गाउँपालिकाको वडा नम्बर–१ मा २३ जना, वडा नम्बर–२ मा १२ जना, वडा नम्बर–३ मा १६ जना, वडा नम्बर–४ मा २० जना वडा नम्बर–५ मा २२ जना र वडा नम्बर–६ मा २४ जनाले बालविवाह गरेका छन् । यो तथ्याङ्क अनुसार सन् २०२१ मा ७३ प्रतिशत बालविवाह भएको पाइन्छ ।
यसै गरी सन् २०२२ मा सिँजा गाउँपालिकामा १४१ जनाको विवाह भएकोमा ६७ जना अर्थात् ४८ प्रतिशत जनाको बालविवाह भएको छ । सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बालविवाह रोक्ने प्रयासमा निरन्तर काम भइरहेको बताउनुभयो ।
उहाँले साझेदार निकाय प्लान नेपाल र क्याडको सहयोगमा २०२० देखि सर्वेक्षण जनप्रतिनिधि परिचालनसहित विभिन्न क्रियाकलापहरू गरिँदै आएको बताउनुभयो । कनकासुन्दरी गाउँपालिकामा सन् २०२० मा ७७३ जनाको विवाह भएकोमा ४४६ जना अर्थात् ५८ प्रतिशत, सन् २०२१ मा १५६ जनामा ९४ जना र सन् २०२२ मा १२४ जनाको बालविवाह भएको बताइएको छ ।
बालविवाहमुक्त वडा
यसरी समग्रमा सिँजा क्षेत्रमा बालविवाह घटेको तथ्याङ्कले देखाएको छ । हिमा गाउँपालिकाको वडा नम्बर १ मा सन् २०२० मा अत्यधिक देखिएको बालविवाह २०२२ मा शून्यमा झरेको छ । वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार वडा नम्बर १ मा अहिले बालविवाह शून्य भएको छ । उहाँले भन्नुभयो, हामीले उमेर नपुगेका केटाकेटीको विवाहमा वडाका जनप्रतिनिधि उपस्थित नहुनेसमेत निर्णय गरेका छौँ । स्थानीय सरकारले त्यस वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी गर्दैछ । वडाध्यक्ष शाहीका अनुसार वडामा २० वर्ष उमेर पुगेर विवाह गर्ने चेलीलाई कोसेलीसहित सम्मान गर्ने नीति बनेको छ ।
सिँजा गाउँपालिका वडा नम्बर २ ले पनि बालविवाहमुक्त गर्ने योजना बनाएको छ । सिँजा २ मा यो वर्ष बालविवाह खासै भएको छैन । वडाध्यक्ष तीर्थ वडका अनुसार वडापालिकाको सिफारिस गरेर मात्रै विवाह गर्न पाइने नियम बनाइएको छ । उहाँले टोलटोलमा सचेतना कार्यक्रम गर्नेदेखि विभिन्न क्रियाकलाप गर्दै आएको जानकारी दिनुभयो । साझेदार संस्था क्याड नेपाल जुम्लाका सामाजिक परिचालन अधिकृत देवेन्द्र आचार्यले परियोजनाले विद्यालयबाहिर रहेका बालबालिका विद्यालय पुर्याउने, यौन तथा प्रजननको सचेतना दिने, आयआर्जनमा टेवा पुर्याउने, धार्मिक गुरु तथा पुरोहितसँग अन्तर्क्रिया गरी जानकारी दिने गरिएको बताउनुभयो । उहाँका अनुसार प्लान नेपालले सिँजा क्षेत्रमा सन् २०२० देखि बालविवाह नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको र २०२४ सम्म जारी रहनेछ ।
उहाँले जुम्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा बालविवाह, भागी विवाह, छिटो विवाह र जबरजस्ती विवाह रोक्नका लागि विभिन्न क्रियाकलाप गर्दै आएको जानकारी दिनुभयो ।