सहदेव बस्नेत
जाजरकोट, माघ २३ गते । प्रेस चौतारी नेपाल जाजरकोट अध्यक्षमा बिनोदकुमार घर्ती पुनः निर्वाचित हुनु भएको छ । मङ्गलबार भएको प्रेस चौतारीको छैटौं जिल्ला अधिवेशनबाट घर्ती पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
निर्वाचण समितिका संयोजक भरतकुमार शर्माका अनुसार नवनिर्वाचित समितिको राजेन्द्र विवश पुन खुला उपाध्यक्ष, प्रतिमा विश्वकर्मा महिला उपाध्यक्ष, मालबहादुर सिंह सचिव चयन हुनुभएको छ ।
त्यस्तै, राजेन्द्र खत्री कोषाध्यक्ष, सहसचिवमा सुरेन्द्रबहादुर खड्का र प्रतीक परियार चयन हुनु भएको छ । जिल्ला सदरमुकाम खलङ्गामा भएको अधिवेशनमा सहभागीहरूले पछिल्लो समय पत्रकारिता क्षेत्रमा आएका चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए ।
नेपाल पत्रकार महासङ्घ जाजरकोटका सल्लाहकार बालकुमार शर्माले पत्रकारिता पेसा पछिल्लो समय चूनौतीका रूपमा रहेको भनाइ राख्नु भएको थियो । साथै, पत्रकारिता पेसा मात्र अङ्गालेर जीविकोपार्जन गर्न नसकिने अवस्था रहेकाले तीनै तहका सरकारले पत्रकारको वृत्ति विकासका लागि उपयुक्त योजना ल्याउनु पर्ने शर्माको भनाइ छ ।
नवनिर्वाचित अध्यक्ष घर्तीले आफूले श्रमजीवी पत्रकारको हक हितका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।