• २२ वैशाख २०८१, शनिबार

साहित्यकार श्रेष्ठ र पत्रकार झा पुरस्कृत

blog

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आयोजना गरेको पुरस्कार वितरण समारोहमा उपस्थित कांग्रेस नेता डा. शेखर कोइराला, पुरस्कृत व्यक्तित्व र अन्य अतिथि । तस्बिर : शशिधर पराजुली

विराटनगर, मङ्सिर ३० गते । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानबाट शनिबार विराटनगरमा दुई जना स्रष्टा पुरस्कृत हुनुभएको छ । 

साहित्यकार तथा समालोचक दधिराज सुवेदीको नाममा उहाँका छोराले स्थापना गर्नुभएको पुरस्कार प्रतिष्ठानले आठौं संस्करणमा वरिष्ठ साहित्यकार तथा आख्यानकार भागिरथी श्रेष्ठ र वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई पुरस्कृत गरेको हो । 

नेपाली साहित्य र आख्यान क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै साहित्यकार श्रेष्ठलाई प्रतिष्ठानले ५१ हजार रुपियाँ राशिको राष्ट्रिय भाषा साहित्य पुरस्कारबाट र पत्रकारिता क्षेत्रबाट राष्ट्रलाई पुर्याउनुभएको योगदानको कदर गर्दै पत्रकार झालाई २५ हजार रुपियाँ राशिको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो । पुरस्कृत दुवैलाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले सम्मान गर्नुभयो । 

नेपाली साहित्य, भाषा, सामाजिक  र शिक्षा क्षेत्रको उन्नयनका लागि साहित्यकार दधिराज सुवेदीले गर्नुभएको योगदानलाई सुपरिचित गराउने उद्देश्यले उहाँका दुइभाइ छोरा शरदराज र रुपकराज सुवेदीले प्रतिष्ठान गठन गरेर १५ लाख रुपियाँको अक्षयकोष खडा गर्नुभएको हो । सोही कोषबाट प्रतिष्ठानले आर्जित ब्याजबाट हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । 

कार्यक्रममा प्रेटेस्ट क्यान्सरका कारण बिरामी अवस्थामा रहनुभएका साहित्यकार सुवेदीको स्वास्थ्य लाभको कामना गर्दै ओमकारध्वनी उच्चारण गरिएको थियो । कार्यक्रममा पुरस्कृत व्यक्तिले आ–आफ्नो क्षेत्रबाट गर्नुभएको योगदानको चर्चा गरिएको थियो ।