• १२ मंसिर २०८१, बुधबार

गोरखापत्रकर्मी शाक्य सम्मानित

blog

सम्मान ग्रहण गर्दै गोरखापत्रका खेल पत्रकार प्रजित शाक्य ।

काठमाडौँ, मङ्सिर ३० गते । व्यायामको लागि नेपालकै जेठो संस्था नेपाल व्यायाम मन्दिरले शनिबार गोरखापत्रका खेल पत्रकार प्रजित शाक्यलगायत विभिन्न व्यक्तित्वलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

नेपाल व्यायाम मन्दिरले २३औँ साधारण सभाका अवसरमा व्यायाम मन्दिरको विकास र विकासमा संस्थाको विभिन्न ओहदामा बसेर विगत लामो समयदेखि कार्य गर्दै आइरहेका पूर्व अध्यक्ष उदयबहादुर श्रेष्ठ र सदस्य रत्नलाल मानन्धरलाई लाइभ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गर्‍यो । दुवै सम्मानित व्यक्तित्वले नगद ५५ हजार ५ सदय ५५ का साथ प्रशंसा पत्र प्राप्त गर्नुभयो ।

सोही अवसरमा खेलकुद पत्रकार सम्मानबाट गोरखापत्रका प्रजित शाक्य, रातो पाटीका रोशन सिंह राउत, कान्तिपुर टेलिभिजनका प्रदीप लेखी, मेरो फिटनेश प्राइम एएचडी टिभीका देवराज पराजुली, काष्ठमण्डप टिभीका रोहित भट्ट र एबिसी टिभीका कवि राज बिसीलाई पत्रकारिता सम्मान प्रदान गरियो । सम्मानित पत्रकारहरूलाई प्रशंसा पत्रका साथ १० हजार रुपियाँले सम्मान गरेको हो ।

यसैगरी व्यायाम मन्दिरले आफ्ना सदस्यहरूका छोरा छोरीहरूले विभिन्न क्षेत्रमा गरेको प्रगतिलाई मध्यनजर गर्दै सन्तति पुरस्कार बाट प्रजल बरिया र श्वेता शाहीलाई १० हजार रुपियाँसहित प्रशंसा पत्रले सम्मान गरेको हो ।

यसैगरी व्यायाम मन्दिरले अभिवक्ता कुमार राज भट्टराईलाई नगद २५ हजार रुपियाँसहित विशेष सम्मान र समाज सेवी विद्या सागर तुलाधरको तर्फबाट विगतमाझै व्यायाम मन्दिरको विकासमा सहयोग पुर्‍याउनु हुने सदस्यहरू कोषाध्यक्ष प्रशान्त सिंह र पूर्ण कुमार मानन्धरलाई २० हजार रुपियाँसहित सम्मान गर्‍यो । यस्तै मन्दिरका उपाध्यक्ष नानी काजी डङ्गोललाई सञ्चालक समितिको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

यसैगरी नेपाल व्यायाम मन्दिरको खेलाडीको रूपमा विभिन्न प्रतियोगितामा सहभागिता जनाउनुका साथै पदक प्राप्त गर्न सफल ३७ जना खेलाडीहरूलाई पनि नगदद्वारा सम्मान गरिएको थियो । यस अघि साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले उद्घाटन गर्नुभयो ।

प्रधान अध्यक्षमा सर्मसम्मत

२०१० सालमा स्थापित नेपालकोनै अग्रणी खेल संस्था नेपाल व्यायाम मन्दिरको २३औँ साधारण सभाले नारायण प्रधानलाई छैटौँ पटकका लागि पनि सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । 

शनिबार भएको साधारण सभाले मन्दिरको वरिष्ठ उपाध्यक्षमा अजय बज्राचार्य, उपाध्यक्षमा नानी काजी डङ्गोल र अनिललाल श्रेष्ठ, महासचिवमा सूर्य प्रसाद जोशी, सचिवमा ईश्वर श्रेष्ठ, कोषाध्यक्षमा प्रशान्त सिंह र सहकोषाध्यक्षमा नरेश नेपालीलाई पनि सर्वसम्मत चयन गरेको हो ।

सदस्यहरूमा ईश्वर खड्गी,  अर्जुन वर्णवाल र रेनबहादुर श्रेष्ठलाई पनि सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिले लुना प्रधान र संजीत श्रेष्ठलाई मनोनीत गरेको छ ।