• १२ मंसिर २०८१, बुधबार

अरहान्त र बिपना स्क्वास च्याम्पियन

blog

काठमाडौँ, मङ्सिर ३० गते । अरहान्तकेशर सिंह र बिपना ब्लोन शनिबार एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० मा च्याम्पियन हुनुभएको छ ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट सङ्घका भवनमा भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका नम्बर एक अरहान्तले अमिर ब्लोनलाई चार सेटमा ६–११, ११–७, ११–४, ११–८ ले पराजित गर्नुभयो ।

अरहान्तको  खेलजीवनको १४औँ एकल उपाधि भएको छ । महिला एकल फाइनलमा बिपना ब्लोनले कृष्णा थापालाई चार सेटमै ११–८, ८–११, ११–६ र १३–११ ले निराश पार्नुभयो । यसैगरी यु-१९ गल्र्समा साक्षी सुनुवार फाइनलमा रेनेसा महर्जनलाई सीधा सेथटमा ११–२, ११–१ र ११–२ ले हराएर च्याम्पियन बन्नुभयो ।

यु-१९ ब्वाइजको फाइनलमा विकास तुम्सिङ मगरले पासाङ ब्लोनलाई चार सेटमा ११–७, १२–१४, ११–६ र ११–४ ले पराजित गर्नुभयो । यसैगरी मास्टर्स ५० प्लसमा छविलाल पाइजा पुन प्रज्वल प्रधानलाई ३–१ सेटमा र प्लेट च्याम्पियन्सीपमा पासाङ ब्लोन दिव्यराज बज्राचार्यलाई सोझो सेटमा ३–० ले हराएर च्याम्पियन बन्नुभयो ।

नेपाल स्क्वास र्योकट्स सङ्घको स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वासको आयोजना भएको हो । प्रतियोगितामा विजयी खेलाडीहरूलाई एक्स स्टेपले पुरस्कार प्रायोजन गरेको थियो ।

भावना र राजेन्द्रको सन्न्यास

नेपाल स्क्वास र्‍याकेट सङ्घले प्रतियोगिताको समापन कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिताबाट सन्न्यास लिएका दुई अनुभवी खेलाडी भावना सुनुवार र राजेन्द्र शाक्यलाई शुभकामनासहित सम्मानपत्र प्रदान गरी उहाँहरूको योगदानको कदर गरेको छ । यी दुवैले घरेलु स्क्वास प्रतियोगितालाई भने निरन्तरता दिनेछन् । दुई दशकदेखि स्क्वासमा समर्पित भावनाले एक दशकभन्दा बढी घरेलु महिला स्क्वासमा दबदबा बनाउने खेलाडी हुनहुन्छ ।

चार पटक दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी भएर भावनाले कोलेम्बोमा भएको दशौँ साग, गुवाहाटीमा भएको १२औँ साग र काठमाडौँमा भएको १३औँ सागमा नेपाललाई महिला टिम इभेन्टमा कांस्य पदक दिलाउनुभएको छ । यसैगरी एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिसकेका राजेन्द्र नेपाल स्क्वास एन्ड र्याकेट्स सङ्घका केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।