अमृतप्रसाद पौडेल
म्याग्दी, मङ्सिर ३० गते । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि २२ स्वर्ण पदक सहित प्रकाश माध्यमिक विद्यालयले जितेको छ ।
३१ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा २२ स्वर्ण र ५ रजत पदक सहित बेनी नगरपालिका–७ मा रहेको प्रकाश माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरेको हो । त्यस्तै पाँच स्वर्ण १० रजत र दुई कांस्य सहित बेनी नगरपालिका–८ बजारकै न्यु वेस्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गर्दा दुई स्वर्ण एक रजत र दुई कांस्य सहित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको बेनी नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख कमल ढकालले जानकारी दिनुभयो ।
एथलेटिक्स विधाको छात्र तर्फ ९ स्वर्ण र ३ रजत एवम् छात्रा तर्फ १० स्वर्ण र २ रजत सहित प्रकाश माध्यमिक विद्यालय पहिलो भएको छ । त्यसैगरी भलिबल तर्फपनि छात्राछात्र दुवैको उपाधि तथा कबड्डी तर्फ छात्र तर्फको उपाधि प्रकाश माध्यमिक विद्यालयले जित्दै स्वर्ण पदक हात पारेको हो ।
एथलेष्टिक्स विद्यामा तीन स्वर्ण र एक रजत पदक हात पार्दै प्रकाश माविका युकेन तामाङ र शुष्मा नेपाली उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै उसु तर्फ जामुनाखर्क माविका समिप किसान र न्यु वेस्ट प्वाइन्टकी प्रमिशा बानियाँ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
कराँतेतर्फ न्यु वेस्ट प्वाइन्टका रोस्लिन बुढाथोकी र माउण्ट एभरेष्ट आवासीय माविकी देलिभिया गर्बुजा उत्कृष्ट खेलाडी घोषित भएका छन् । तेक्वान्दो खेल तर्फ भने न्यु वेस्ट प्वाइन्टका दिपेश पुर्जा र बेनी सामुदायिक माध्यमिक विद्यालयकी सज्जा पुनले उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका छन् । कबड्डी तर्फ प्रकाश माविका सरोज जिसी र रिया बिक उत्कृष्ट खेलाडी भएका छन् ।
प्रतियोगितामा कराँते विद्या तर्फ ९ स्वर्ण सहित न्यु वेस्ट प्वाइन्टले पहिलो स्थान हासिल गरेको छ भने उसु तर्फ जामुनाखर्क माध्यमिक विद्यालयले पाँच स्वर्ण सहित पहिलो स्थान हासिल गरेको छ । तेक्वान्दो बि धामा भने चार स्वर्ण ६ रजत र दुई कांस्य सहित न्यु वेस्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले पहिलो स्थान हात पारेको छ ।
६८ स्वर्ण पदककालागि हुन पर्ने भए पनि यस प्रतियोगितामा एथलेटिक्स तर्फ २६ स्वर्ण, कबड्डीमा २ स्वर्ण, भलिबलमा एक स्वर्ण र तेक्वान्दो तर्फ २ स्वर्ण गरी कुल ३१ पदक गणना गरिएको थियो । मार्सल आर्ट तर्फ उसु, र कराँतेको १२/१२ स्वर्ण तथा भलिबलको महिला तर्फको १ र तेक्वान्दोको १० स्वर्ण पदक प्रतियोगितामा गणना गरिएको थिएन ।